२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्राण्डीको साधारणसभामा ‘मेडिकल निर्देशक’ एजेण्डा बनाइयो, के डा. पाण्डे बाहिरिनै लागेका हुन् ?

ग्राण्डीको साधारणसभामा ‘मेडिकल निर्देशक’ एजेण्डा बनाइयो, के डा. पाण्डे बाहिरिनै लागेका हुन् ?


काठमाडौं—ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल व्यवस्थापन समितिले मेडिकल निर्देशक फेर्ने गृहकार्य अगाडि बढाएको छ । अस्पतालको सञ्चालक समितिका अध्यक्ष ई. दीपक कुँवर र मुख्य लगानीकर्तामध्येका एक डा. रुपज्योतिसँग द्वन्द्व बढेसँगै मेडिकल निर्देशक तथा अस्पतालका परिकल्पनाकार डा. चक्रराज पाण्डेलाई परिवर्तन गर्ने औपचारिक गृहकार्य अगाडि बढाइएको हो ।

ग्राण्डी अस्पताल व्यवस्थापन समितिले ७ कात्तिकमा साधारणसभा आव्हान गरेको छ । उक्त साधारणसभाको एक मुख्य एजेण्डाका रुपमा ‘मेडिकल डाइरेक्टर सम्बन्ध’मा छलफल गर्ने उल्लेख छ । अस्पताल व्यवस्थापन स्रोतकाअनुसार डा. पाण्डेलाई विधिवत रुपमा मेडिकल निर्देशकबाट हटाउनका लागि साधारणसभामा उक्त विषयलाई छलफलको एजेण्डा बनाइएको हो ।

डा. पाण्डे एक मुख्य लगानीकर्ता समेत रहेका हुँदा व्यवस्थापनले यसअघि विवादबीच पनि उनलाई सिधैं हटाउन सकेको थिएन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अहिले पनि डा. पाण्डेलाई ‘सेरेमोनियल’ भूमिकामा खुम्चाइएको छ । मेडिकल निर्देशकको कार्यकारी भूमिका भने अस्पतालका डेपुटी निर्देशक डा. विनोद विजुक्छे निभाउँदैं आएका छन् । ‘व्यवस्थापनमा अहिले पनि द्वन्द्व छ,’ ग्राण्डी अस्पताल स्रोतले भन्यो, ‘अहिले डा. पाण्डे एक बजेसम्ममात्रै अस्पतालमा बस्नुहुन्छ । त्यसपछि आफ्नो क्लिनिकमा जानुहुन्छ । उहाँले यसअघि निभाउने भूमिका डेपुटी डाइरेक्टरले निभाइरहनु भएको छ ।’ डा. पाण्डेले अध्यक्ष कुँवरसँग मतभेद तीव्र बनेपछि गत वर्षको कात्तिकमा लाजिम्पाटमा छुट्टै ‘अनामिवा क्लिनिक’ सुरु गरिसकेका छन् ।

झण्डै एक वर्षदेखि डा. पाण्डे र अध्यक्ष कुँवरबीच जारी शीतयुद्ध अस्पतालको गत वार्षिकोत्सवमा सार्वजनिक समारोहमै पोखिएको थियो । त्यतिबेला कुँवरले डा. पाण्डेमाथि सार्वजनिक रुपमै अस्पताल बिगारेको टिप्पणी गरेका थिए भने डा. पाण्डे आफूले परिकल्पना गरेको अस्पतालको वार्षिकोत्सवकै छेको पारेर विदामा बसेका थिए । यति हुँदाहुँदै पनि डा. पाण्डे मुख्य लगानीकर्ता भएकाले उनलाई हटाउनका लागि सहज छैन । ‘उहाँ (डा. पाण्डे)को अझै पनि अस्पतालमा उतिकै पावर छ, उहाँले थुप्रै लगानी गर्नुभएको छ,’ डा. पाण्डे निकटस्रोतले भन्यो, ‘साधारणसभामा त्यो एजेण्डा बनाइएपनि उहाँले ल्याङल्याङ गरेर के बस्नु भनेमात्रै बाहिरिनुहुन्छ होला । नत्र उहाँलाई हटाउन गाह्रै छ ।’

डा. पाण्डेकै योजनामा धापासी हाइटस्थित ३२ रोपनीमा जग्गामा फैलिएको १५ तले आलिशान भवनमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सुरु भएको हो । देशकै कर्पोरेट हेल्थ सेक्टरमा बेन्चमार्क खडा गर्ने भनेर खोलिएको ग्राण्डीमा सुरुदेखि नै व्यवस्थापनमा विवाद रहँदैं आएको छ । विवादकै कारण केही वर्ष अस्पतालको बोर्ड अफ डाइरेक्टर रहेका मुख्य लगानीकर्तामध्येका एक रुपज्योति केही वर्ष बाहिर रहेका थिए । तर, उनले हालै पुनः अस्पतालको व्यवस्थापमा आफ्नो उपस्थिती देखाउनका थालेका छन् ।

त्यसको परिणाम नै मान्नुपर्छ झण्डै पाँच महिनाअघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आन्तरिक व्यवस्थापन जिम्मा भारतीय समूह ‘लसान्ते’लाई दिइएको छ । ग्राण्डीको प्रमुख कार्यकारी अधिकृतमा भारतीय चिकित्सक डा. अशोक वर्द्धधनलाई ल्याइएको थियो भने सिओओमा भारतीय नागरिक अमृत खन्नालाई जिम्मेवारी दिइएको छ । यस्तै, अस्पतालको प्रभावशाली कार्यकारी भूमिकामा भारतीय चिकित्सक डा. नोनिका गोयल आएकी छन् । अहिले भारतीय समूह र डा. विजेक्छुसँग मिलेर अस्पतालको आन्तरिक व्यवस्थापनको कमाण्ड सम्हालिरहेको छ ।

ग्राण्डी अस्पतालमा रुपज्योती र भैसेपाटीमा अर्को ठूलो मेडिसिटी अस्पताल सञ्चालन गरिरहेका डा. उपेन्द्र महतोको २५/२५ प्रतिशत लगानी रहेको छ । र अहिलेको सञ्चालक समिति र अन्य ११७ जना सेयर होल्डरको ५० प्रतिशत सेयर हुन जान्छ । ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता रहेका छन् । अहिले अस्पतालको सञ्चालक समितिको अध्यक्ष ई. कुँवर छन् भने अस्पताल मेडिकल निर्देशक डा. पाण्डे छन् । अस्पताल निरन्तर घाटामा गएपछि सञ्चालकहरुबीच विवाद चुलिएको थियो । अस्पताल १ हजार बढी कर्मचारी कार्यरत छन् ।

ग्राण्डीको साधारणसभा सम्बन्धि सूचना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ