काठमाडौँ —स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला फैलिएको कपिलवस्तु जिल्लामा औषधीसहितको टोली पठाएको छ। बिहिबार बिहान मन्त्रालयले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत डा. शशी कँडेलको नेतृत्वमा ३ जनाको टोली पठाएको हो।
टोलीमा विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यका चिकित्सकहरु रहेका छन् । टोलीले हैजासँग मिल्दोजुल्दो लक्षण भएको सो रोग कहाँबाट आयो र कसरी फैलियो भन्नेबारेमा बुझ्ने र बिरामीको उपचार गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए। उनका अनुसार सो टोलीले औषधीजन्य सामग्री र कोलेरा किट पनि लिएर गएको छ ।
महामारी फैलिएको स्थलको पानी, बिरामीको दिसाबपिसाबको स्याम्पल पनि टोलीले संकलन गर्ने बताइएको छ।
झाडापखाला फैलिएपछि कपिलवस्तुमा स्कुलमा समेत बिरामी राखेर उपचार गरिएको अवस्था छ। हालै त्यहाँ २ सय बढी झाडापखालाका बिरामी छन्। जसमध्ये उपचारको क्रममा २ जनाले ज्यान समेत गुमाइसकेका छन्।
रोग फैलिँदा नगरपालिकाको वडा नं ८ बहादुरगञ्जका स्थानीय ४५ वर्षका रामप्रसाद केवट र ८ वर्षका राज कश्यपको मृत्यु भएको हो। बिरामीमा निरन्तर झाडाबान्ता हुने र शरीर निकै कमजोर बनाउने लक्षण देखिएका छन् ।