काठमाडौं—सरकारी चिकित्सक संघ (गोदान)ले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा योग्य व्यक्ति नियुक्त गर्न माग गरेको छ । बिहीबार संघका अध्यक्ष डा. रविन खड्का र महासचिव कीर्तिपाल सुवेदी एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको बिना कुनै कारण म्याद थपेकामा पनि ध्यानाकर्षण भएको जनाएका छन् ।
‘कुनै विशेषज्ञको विज्ञता राष्ट्रलाई आवश्यक भएमा निजको सेवा अवधि थप गर्नु र निजको विज्ञताको नाममा कार्यकारी पद नै सुम्पिन खोज्नु हास्यापद एवं गलत मनसायपूर्ण छ,’ उनले भने, ‘यसले महानिर्देशक हुन योग्यता पुगेका अन्य कर्मचारीलाई निराश र निरुत्साहित मात्र पारेको छैन कि अनुभव, लक्ष्य, पद्धति आदि सबैको धज्जी उडाइएको छ ।’
गोदानले सरकारकै तहबाट नियोजिन रुपमै व्यक्ति केन्द्रित भएर अस्पष्ट नियतले स्वास्थ्यजस्तो गम्भीर क्षेत्रको महानिर्देशक जस्तो पदलाई दुरुपयोग गरिनुलाई निकै खेदपूर्ण भनेको छ ।
‘उपरोक्त गल्तीहरुलाई सच्चाएर स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियमानअुसार योग्यताका आधारमा उपयुक्त व्यक्ति नियुक्त गरियोस् र हाल सो पद दिइएका विज्ञको सेवा राष्ट्रलाई साँच्चै आवश्यक नै हो भने निजलाई निजको विज्ञता बमोजिमकै सेवा गर्न दिइयोस् भनी तत्काल निर्णय सच्चाउन सम्बन्धितको ध्यानाकर्षण गराउँदछौं’ संघको विज्ञप्तीमा छ ।