काठमाडौं—नेकपा एकीकृत समाजवादी (एस) बाट विरोध खतिवडा स्वास्थ्यमन्त्री तथा जनसंख्या मन्त्री बन्ने भएका छन् । यसअघि समाजवादीबाट स्वास्थ्यमन्त्रीमा रामकुमारी झाँक्रीलाई पठाउने तयारी थियो ।
तर, अन्तिम समयमा नेकपा एसको सचिवालय बैठकले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दैं सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । जसमा खतिवडालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको एक नेताले बताए ।
‘मैले पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने कुरा सुनेको छु,’ खतिवडाले हेल्थआवाजलाई संक्षिप्त प्रतिक्रिया दिदैं भने, ‘म अहिले घरमै छु ।’
यसअघि खतिवडालाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिने तयारी थियो । अब उनी स्वास्थ्यमन्त्री बन्नेछन् ।
यस्तै, भवानी खापुङलाई स्वास्थ्य राज्यमन्त्री बनाइने नेकपा एस निकट स्रोतले जानकारी दिएको छ ।
रामकुमारी झाँक्रीलाई भने पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
खतिवडा मकवानपुरबाट प्रतिनिधीसभामा विजयी भएका हुन् । उनी लामो समयदेखि वामपन्थी राजनीतिमा आवद्ध छन् । नेकपा एमालेबाट पटक—पटक निर्वाचन जितेपनि उनले मन्त्री बन्ने अवसर पाएका थिएनन् ।