काठमाडौं—नेकपा एकीकृत समाजवादी (एस) का नेता विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई स्वास्थ्य मन्त्री नियुक्त गरेकी हुन् ।
शुक्रबार नै नवनियुक्त मन्त्री खतिवडाले राष्ट्रपति कार्यलय शितलनिवासमा आयोजित राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ गरेका छन् ।
यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनले पनि शुक्रबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूलाई नियुक्त गरेका हुन् ।
खतिवडा मकवानपुरबाट प्रतिनिधीसभामा विजयी भएका हुन् । उनी लामो समयदेखि वामपन्थी राजनीतिमा आवद्ध छन् । नेकपा एमालेबाट पटक—पटक निर्वाचन जितेपनि उनले मन्त्री बन्ने अवसर पाएका थिएनन् ।
यस्तै, संघीय प्रतिनिधिसभामा तेह्रथुमबाट भवानी खापुङ निर्वाचित भएका थिए। एमालेमा उनी केन्द्रीय अनुशासन आयोगको सदस्य पनि रहेका थिए । पूर्वशिक्षक रहेका उनी शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा लागेका हुन् ।
सरकार बनेको अढाइ महिनापछि शुक्रबार मन्त्रिमण्डल विस्तार भएको हो।