२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब खोपसँगै बालबालिकाको नियमित आँखा परीक्षण पनि हुने

अब खोपसँगै बालबालिकाको नियमित आँखा परीक्षण पनि हुने


काठमाडौं—खोप लगाउने उमेरका बालबालिकाको आँखा परीक्षणका लागि बालबालिका कार्यक्रम राष्ट्रिय पाठ्यक्रम तय हुने भएको छ । खोप केन्द्रमा खोप लगाउन जाने बालबालिकाको खोपसँगै आँखा पनि नियमित परीक्षण गर्ने गरी पाठ्यक्रम तयार गरिएको हो ।

ग्लोबल आई हेल्थ, इटहरी उपमहानगरपालिका र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय तालिम केन्द्रको संयुक्त पहलमा सो पाठ्यक्रम तयार गर्न लागिएको कार्यक्रममा परिकल्पनाकार डा. बेन लिम्बुले जानकारी दिए । राजधानीमा एक कार्यक्रममाझ सो पाठ्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको डा. लिम्बुले बताए ।

पाठ्यक्रम तयार भएपछि नमुनाका रुपमा इटहरी महानगरपालिकाका खोप केन्द्रहरुबाट बालबालिकाको आँखा प्रारम्भिक परीक्षण गरिनेछ ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यकर्मीहरुलाई नै तालिम दिएर समुदायमा रहेका बालबालिकाहरुको आँखा प्रारम्भिक परीक्षण गराउने गरी पाठ्यक्रममा राखिएको छ । स्वास्थ्य कार्यकर्ताहरुले स्क्रीनिङ गरेपछि सम्भावित आँखाको जाँच गराउनुपर्नेमा भएमा अभिभावकलाई विशेषज्ञ चिकित्सक कहाँ पठाउन सल्लाह दिनेछन् ।

इटहरीमा उपमहानरपालिकाबाट सुरु गरिने यो कार्यक्रम दुई वर्षभित्र प्रदेश १ का सबै जिल्लामा गर्दै देशभरि सञ्चालन गरिने डा. लिम्बुले जानकारी दिए । पाठ्यक्रम तयार भएर प्रारम्भिक रिपोर्ट आएपछि कार्यक्रमलाई नेपाल सरकारलाई हस्तान्तरण गरिने योजना रहेको उनले बताए ।

नेपाल सरकारले बालबालिका स्कुल भर्ना हुनुअघि अनिवार्य आँखा जाँच गर्नुपर्ने नीति लिएको छ । नेपालमा ५ वर्षमुनिका बालबालिकाहरुमा मोतिविन्दु, जलविन्दु, रेटिनोपेथी अफ प्रिमेच्युरेटी र कुपोषणले गर्दा आँखामा हुने समस्या धेरै छन् । त्यसैगरी दृष्टिदोष र अल्छी आँखा न्युन दृष्टिको मुख्य कारक रहेको छ ।

कार्यक्रममा आँखा रोग विशेषज्ञ प्रा.डा. ओमकृष्ण मल्लले बालबालिकामा रहेको आँखाको समस्या सानै उमेरमा हल गर्न नसकेपछि त्यसलाई उपचार गर्न पछि नसकिने बताए ।

त्यसैगरी, अप्थोमोलोजी सोसाइटीका अध्यक्ष डा. रोहित सैजुले बच्चाको उमेरसँगै उसको आँखा गर्नुपर्ने क्रियाकलाप गर्न नसकेमा पछि गएर न्यून दृष्टि वा दृष्टिबिहीन हुन सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

स्वास्थ्य सेवा विभाग आँखा, नाक, कान, घाँटी शाखा प्रमुख डा.प्रकाश बुढाथोकीले बालबालिकाको आँखा सम्बन्धि पाठ्यक्रम तयार गर्दा लागु गर्न सकिने र प्रभावकारी हुने खालको बनाउनुपर्नेमा सुझाव दिए ।

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले आँखा क्षेत्रमा नेपालले विश्वमा एउटा छुट्टै पहिचान बनाएको दावी गर्दै बालबालिकाहरुको सुरुवाती अवस्थामै आँखा परीक्षण गर्ने कार्यक्रम सुरु गरेर समुदायमा आधारित आँखा क्षेत्रको अर्को क्रान्ति सुरु भएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ