काठमाडौं—उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका थिए ।
उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए ।
सो क्रममा उनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए ।
उपराष्ट्रपति निस्किएपछि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडसमेत नेता वैद्यलाई भेट्न नर्भिक पुगेका थिए । सो क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देशसमेत वैद्यलाई सुनाएका थिए । आफू र प्रधानमन्त्रीले समेत वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको र उनको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रह गरेका थिए ।
आइतबार बिहान नर्भिक भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।