काठमाडौं—राष्ट्रिय क्षयरोग केन्द्रका केन्द्रका निर्देशक डा. प्रकाशप्रसाद साह हाकिम गएको डेढ महिना भएको छ । तत्कालीन निर्देशक डा. अनुप भट्टचनलाई समायोजन ऐनविपरित कर्णाली प्रदेश सरुवा गराएर हाकिम बन्न गएका डा. साह कार्यलयको काममा भन्दा बाहिर—बाहिर सयरमै व्यस्त हुने गरेको पाइएको छ ।
निवर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. साहलाई गत भदौंमा केन्द्रको प्रमुख बनाएर पठाएका थिए । केन्द्रको हाजिरी कपीमा उल्लेखभएअनुसार उनी १६ भदौंबाट कार्यलयमा हाजिरी भएका थिए । डा. साह केन्द्रमा हाजिर भएदेखि ७ कात्तिकसम्म ४३ दिन कार्यलय खुलेको छ ।
जसमा डा. साह २३ दिनमात्रै कार्यलयमा हाजिर भएका छन् । २० दिन भने काज मिलाएर विभिन्न जिल्ला भ्रमण, आईएनजिओ र एनजिओहरुको कार्यक्रममै व्यस्त भएका हुन् । पछिल्लो समय डा. साह ५ कात्तिकदेखि ८ कात्तिकसम्म ४ दिन काज मिलाएर सप्तरी, कन्चनपुरको पिएचसी गएको उल्लेख गरेका छन् ।
तर, केन्द्र स्रोतकाअनुसार उनी घरायसी कामले सप्तरी गएका छन् । पिएचसी काज मिलाउँदा दैनिक भ्रमण भत्ता पनि पाइने लोभमा कन्चनपुर पिएचसी काजमा गएको विवरण कार्यलयमा पेश गरेका छन् । एक हप्तासम्मको काज विदा कार्यलय प्रमुखले आफूखुसी स्वीकृत गर्न पाउने व्यवस्थाको फाइदा उठाउँदैं उनले पटके काज मिलाउँदैं आफू अनुकूल काममा निस्कने गरेका हुन् ।
डा. साहले एकै पटक दुई स्थानमा जाने गरी ९ दिनसम्मको काज पनि आफै स्वीकृत गरेका छन् । तर, ९ दिनको काज स्वीकृत गर्दा उनले बीचमा शनिबार पारेर चलाखी गरेका छन् । जबकी ९ दिनको काज स्वीकृत गर्ने अधिकार उनीभन्दा माथिल्लो अधिकारीलाई मात्रै छ । ९ दिनमा तीन दिन धुलिखेल गएको त्यसपछि शनिबार पारेर आइतबारदेखि थप ५ दिन तनहुँ—लम्कीबजार गएको काज मिलाएका छन् । उनले काज मिलाउँदा सुरुमा वा अन्त्यमा शनिबार पार्ने गरेका छन् ।
हाकिम नै कार्यलयमा नबस्दा राष्ट्रिय क्षयरोग केन्द्रका अधिकांश कर्मचारीहरु पनि हाजिर गरेर निस्कने गरेको केन्द्रका एक कर्मचारी बताउँछन् । आइतबार हेल्थआवाजका प्रतिनिधी केन्द्रमा पुग्दा ३३ जनाको दरबन्दी रहेको सो केन्द्रमा अधिकांश कार्यकक्ष खाली थिए । कार्यलय प्रमुखले कार्यलयको गतिविधीमा वास्ता नगर्दा टिवीका बिरामीले सेवन गर्ने औषधीको मौज्दात सकिदैं जाँदा पनि खरिद प्रक्रिया सुरु हुन नसकेको एक कर्मचारीले बताए ।
‘हाकिम साब यसरी नै घुमफिरमा नै मस्त रहने हो भने अब केही समयदेखि टिवीका बिरामीले औषधी नै पाउन छोड्छन्,’ ती कर्मचारीले भने, ‘पहिले किनेको औषधी सकिदैं गएको छ, नयाँ खरिद प्रक्रियामा हाकिमले चासो दिनु भएको छैन ।’
अझ रोचक त के भने केन्द्रका हाकिम यतिसम्म लापरवाह गर्न थालेका छ कि केन्द्र प्राणगण र कार्यकक्षहरु फोहोर भएपछि स्वास्थ्य मन्त्रालयमा त्यसको उजुरी परेको छ । सो उजुरी परेपछि मन्त्रालयबाट ताकेता गरेसँगै शनिबार र आइतबार केन्द्र परिसर सरसफाइ गरिएको थियो । तथापि, भित्री भाग भने अझै पनि फोहोर नै छ ।
यसअघि उनी दशौं तहमा रहँदा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कार्यरत थिए । त्यहाँ रहँदा पनि उनलाई काजमा घुमफिर गर्न रमाउने कर्मचारीका रुपमा चिनिन्थ्यो ।