काठमाडौँ – सरकारले कोभिड-१९ विरुद्ध फाइजर, मोडेर्ना र भेरोसेल खोपको थप ४०-४० लाख मात्रा खरिद गर्ने भएको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयले खोपको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै थप मोडेर्ना, फाइजर तथा भेरोसेल खोपको थप ४०–४० लाख मात्रा खरिद गर्न लागेको जानकारी दिएको हो।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सो बैठकमा सबै नागरिकलाई चैत्रसम्म खोप नि:शुल्क दिने तथा खोप अभाव हुन नदिनका लागि दातासँग सहयोग माग्ने तथा खरिद प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए।
उनका अनुसार बैठकमा हालसम्म खोप प्राप्ति तथा ‘पाइपलाइन’ मा रहेका खोप, खोपका उपलब्धि (कभरेज) तथा भण्डारण बारे छलफल गरिएको जनाए।
यस्तै, माल्दिभ्स, क्यानाडा लगायतका केहि देशहरुबाट पनि खोप विस्तारै आउने बताइएको छ ।