विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका देशका स्वास्थ्य मन्त्रीहरूले दक्षिणपूर्वी एसिया क्षेत्रमा कोभिड-१९ महामारीका कारण प्रभावित बनेको क्षयरोग उन्मुलन प्रयासलाई पुन: गति दिने प्रतिबद्धता जनाएका छन् । क्षयरोग प्रतिकार्यको पुन:थालनीका लागि उच्चस्तरीय बैठकमा उनीहरुले सो प्रतिबद्धता जनाएका हन् ।
बैठकमा उपस्थित मन्त्रीहरुले कोभिड–१९ को महामारीका काराण प्रभावित अवस्था सुधार गर्न आवश्यक पर्ने अग्रिम लगानी लगायत बजेट र जनशक्ति विनियोजन वृद्धि गर्न सहमती जनाएका छन् ।
क्षयरोग प्रतिकार्यको पुनःथालनीका लागि उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोमले भने, ‘क्षयरोग रोकथाम तथा उपचार गर्न सकिने रोग भए पनि यसले हरेक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान लिन्छ र तीमध्ये झन्डै आधा मृत्यु विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रमा हुने गर्छ । हामीले क्षयरोग उन्मूलनको प्रयासलाई तीव्र बनाउनै पर्छ ।’
मंगलबार भएको दिनभरको भर्चुअल बैठकमा स्वास्थ्य मन्त्रीहरूले आवश्यक कार्यक्रमहरू ठोस रूपमा कार्यान्वयन गर्दै यसलाई गति दिन ‘मन्त्रीस्तरीय प्रतिबद्धता पत्र’मा सर्वसम्मत हस्ताक्षर गरे । यस बैठकको आयोजना भारत, इन्डोनेसिया र नेपालका स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले संयुक्त रूपमा गरेका हुन् ।
मन्त्रीहरूले उच्चतम राजनीतिक तहको नेतृत्वमा राष्ट्रिय कार्यक्रमहरूमार्फत क्षयरोग उन्मूलन गर्न बहुक्षेत्रीय र सम्पूणर् समाजलाई संलग्न गराउने पद्धति अपनाउने र लक्ष्यहरूलाई सूक्ष्मरूपमा अनुगमन गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनीहरूले कोभिड-१९ को महामारीका बेला गुमाएको आधारमा फर्कन आवश्यक पर्ने अग्रिम लगानीलगायत बजेट र जनशक्ति विनियोजन वृद्धि गर्न सहमती जनाएका छन् । यस क्षेत्रमा क्षयरोगको उन्मूलन गर्न आवश्यक वृहत्तर कार्यक्रमहरू कार्यान्वयन गर्न वार्षिक ३ अर्ब डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।
मन्त्रीस्तरीय प्रतिबद्धता पत्रमा अधिकारमूलक, लाञ्छनामुक्त, गुणस्तरीय र जनकेन्द्रित सेवाको उच्चतम मापदण्ड सुनिश्चित गर्न आह्वान गरिएको छ । यसले आप्रवासी, कैदी, बालबालिका, वृद्ध र क्षयरोग तथा एचआइभी दुवै संक्रमण भएका उच्च जोखिममा रहेका जनसङ्ख्या लगायत सबैका लागि रोकथाम, निदान, उपचार, पुनस्र्थापन र प्रशामकमूलक उपचार पहुँचयोग्य हुनुपर्छ भन्ने कुरामा जोड दिएको छ ।
स्वास्थ्य मन्त्रीहरूले क्षयरोग उपचार सेवासँगै सामाजिक र आर्थिक सुरक्षालाई मूलधारमा ल्याउन प्रतिबद्धता जाहेर गरेका छन् । गरिबी र कुपोषण क्षयरोगको सबैभन्दा ठूला कारकमा पर्दछन् ।
यसले क्षयरोगका बिरामी र तिनका परिवारलाई लक्षणहरू देखिने समयदेखि सफल उपचार पूरा नभएसम्म निदान गर्न र केही अवस्थामा उपचारभन्दा बाहिरको समस्यालाई सम्बोधन गर्न, ठूलो आर्थिक नोक्सान हटाउने लक्ष्य हासिल गर्न सामाजिक सहयोगको आह्वान गरेको छ ।
प्रबिद्धता पत्रले जनकेन्द्रित प्रतिकार्य सुनिश्चित गर्न त्यस्ता सहयोगको लागि गरिने योजना, अनुगमन, आयोजना र प्रबन्धमा समुदाय र नागरिक समाजका प्रतिनिधिहरूको सशक्तीकरण र संलग्नतामा जोड दिएको छ ।
यस्तै, विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले क्षयरोगको रोकथाम, निदान र उपचार सेवालाई विस्तार गर्न तत्काल कदम चाल्नु आवश्यक रहेको बताइन ।
बैठकमा स्वास्थ्य मन्त्रीहरूले आवश्यक कार्यक्रमहरू ठोस रूपमा कार्यान्वयन गर्दै यसलाई गति दिन मन्त्रीस्तरीय प्रतिबद्धता पत्रमा सर्वसम्मत हस्ताक्षर गरेका थिए । नेपालसहित भारत, इन्डोनेसिया र विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले बैठकको संयुक्त रूपमा आयोजना गरेका थिए ।
बैठकमा ग्लोबल फण्ड, स्टप टीबी पार्टनरसिप, जाइका, एसियाली विकास बैंक, विश्व बैंक, अमेरिकी दूतावासलगायत साझेदार निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।