२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके हो मेडिकल काउन्सिलको निर्वाचनको मुखैमा चर्चामा आएको ‘एसएमएस काण्ड’ ?

के हो मेडिकल काउन्सिलको निर्वाचनको मुखैमा चर्चामा आएको ‘एसएमएस काण्ड’ ?


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको निर्वाचन उपत्यका बाहिरबाट आजदेखि सुरु भएको छ । निर्वाचन सुरु हुनु एकदिन अघि अर्थात ३ मंसिरमा मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले सामाजिक संजालमा पोष्ट गरे, ‘चिकित्सकलाई अनुशासित गराउने मेडिकल काउन्सिलमा उनीहरुले दर्ता गर्दा बुझाएको मोवाइल नम्बरहरु आउँदो चुनावमा गु्रप एसएमएस गर्नलाई त्यहीँ कार्यरत डाक्टरको हात कसरी लाग्यो ? मिल्छ ? कि स्रोत बताउनुप¥यो कि अख्तियार दुरुपयोग गरेको स्वीकार गर्नुप¥यो ।’

सो पोष्ट बाहिर आएसँगै चिकित्सहरुबीच यस विषयमा वादविवाद छताछुल्ल आयो । सामाजिक संजालमा चिकित्सकहरुले काउन्सिल सदस्यका दुई उम्मेदवार डा. कालुसिंह खत्री र डा. तोषिमा कार्कीले मेडिकल काउन्सिलबाट मोवाइल डाटा दुरुपयोग गरी निर्वाचन प्रचार—प्रसार गरेको आरोप लगाएका छन् ।

विवाद बाहिर आएसँगै नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुलाई सम्पर्क प्रयोजनको लागि लिएको मोवाइल नम्बर निर्वाचनमा प्रचार—प्रसार गर्न दुरुपयोग भएको र सो कानुन विपरित भएको भन्दै विवाद सतहमा आएपछि शुक्रबार नेपाल मेडिकल काउन्सिलले त्यही विषयमा छानविन गर्न भन्दै आइतबारलाई बैठक डाकेको छ । मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले चुनावको समयमा काउन्सिलको डाटा सम्बन्धी प्रश्न उठेपछि काउन्सिलले चासो दिएको बताए । ‘हामी अध्ययन पनि गर्दैछौं,’ उनले हेल्थआवाजसँग भने, ‘उम्मेदवारी नै खारेज भइसकेको भनेर हल्ला भएको छ त्यो सत्य होइन ।’

डा. अधिकारीले मिडियामा आइरहेको म्यासेज नम्बर ३७८८८ अहिले नेपाल मेडिकल काउन्सिलको आधिकारिक म्यासेजिङ्ग नम्बर नभएको पनि बताए । ‘पहिले काउन्सिलबाट सबै चिकित्सकलाई एकैपटक सूचना दिन यो नम्बर प्रयोग भएको थियो । तर, अहिले छैन,’ डा. अधिकारीले भने ‘अहिले काउन्सिलको छुट्टै एनएमसी_अलर्टबाट म्यासेज जान्छ ।’ ३७८८८ लाई काउन्सिलको आधिकारिक सन्देश दिने नम्बर भन्दैं विवाद गरिएपछि अधिकारीका भनाइमा त्यो काउन्सिलको आधारिक नम्बर नरहेको पाइएको छ । उनले थपे, ‘यस विषयमा प्रश्न उठिसकेपछि काउन्सिलले छानविन गरी चाडै टुंगोमा पु¥याउनेछौं ।’

एसएमएस विवादमा आएको म्यासेजिङ नम्बर ३७८८८ को संचालक सिरान टेक्नोलोजीका आईटीका प्रतिनिधी प्रज्वल श्रेष्ठले पनि यो नम्बर काउन्सिलको आधिकारिक एसएमएस नम्बर नभएको दावी गरे । उनले ३७८८८ नम्बर जोसुकै व्यक्ति या संस्थाले शुल्क तिरेर सामूहिक म्यासेज पठाउन प्रयोग गर्न सक्ने बताए । ‘अहिले एनएमसीको सर्टकर्ट होइन्, ब्लक एसएमएसका लागि प्रयोग हुने सिरान टेक्नोलोजीको नम्बर हो । यो एनएमसीको होइन्, एनएमसी—एलर्ट भन्ने एनएमसीको आफ्नै छ । यो कमन हो, यो ब्ल्क एमएमएसको लागि जुनसुकै व्यक्ति वा संस्थाले प्रयोग गर्न सक्छन्,’ उनले भने ।

डाटा दुरुपयोग गरेको आरोप लागेका डा. कालुसिंह खत्रीले भने आफूले व्यक्तिगत रुपमा संकलन गरेका नम्बर सिरान टेक्नोलोजीलाई ब्लक एसएमएसका लागि उपलब्ध गराएको बताए । डा. खत्रीले आफू लामो समयदेखि चिकित्सकहरुसँगको सम्पर्कमा रहेको, चिकित्सकका विभिन्न अभियान र आन्दोलनमा सक्रिय भएको तथा काउन्सिलको निवर्तमान सदस्य पनि भएको हुँदा व्यक्तिगत तवरबाट संकलन गरेका १५ हजारभन्दा बढी फोन नम्बर आफ्नो फोन र डायरीमा सुरक्षित रहेको बताए ।

‘आफूसँग भएका नम्बर सिरान टेक्नोलोजीलाई बुझाएर त्यहीबाट एसएमएस गर्न लगाएको हुँ । तर, संयोगले मेडिकल काउन्सिलको पहिले म्यासेज जाने नम्बरबाट गएपछि केही साथीभाईबाट आशंका गर्नुभयो,’ उनले भने, ‘म निर्वतमान पदाधीकारी पनि भएको हुँदा आशंका गर्नु स्वभाविक नै हो तर यति सारो चुनावी प्रपोगाण्डा नै होला जस्तो लागेको थिएन ।’ उनले चिकित्सकहरुमाझ सर्वाधिक बढी जोडिएको चिकित्सक आफू नै भएको दावी समेत गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ