काठमाडौं—आफूहरुको भविष्य अन्योलग्रस्त बनाएको भन्दै चीनमा एमबीबीएस अन्तिम वर्षको पढाइ पूरा गरेका र इन्टर्नसीप नसकेरै नेपाल फर्किएका विद्यार्थीहरु आन्दोलित बनेका छन् । उनीहरुले आफूहरुलाई नेपालमै इन्टर्न गर्ने व्यवस्था गरिदिनुपर्ने मागसहित सोमबारबाट आन्दोलन थालेका हुन् ।

चीनबाट एमबीबीएस सन् २०१५/०१६ ब्याचमा एमबीबीएस अध्ययन पूरा गरेका तर, कोभिड—१९ का कारण इन्टर्न नगरी नेपाल फर्किएका १ सय ५३ विद्यार्थीहरु छन् । उनीहरुले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले इन्टर्नसीपका लागि व्यवस्थापन नगरिदिएको भन्दैं आन्दोलन गर्नुपरेको जनाएका छन् ।

‘मानसिक रुप्मा हामीले यातना खेपिरहेका छौं । डिप्रेसनमा गएका छौं,’ चीनबाट एमबीबीएसको इन्टर्न नगरेर फर्किएका अभिशेक यादव भन्छन्, ‘हाम्रो माग पूरा नभएसम्म हामी आन्दोलन जारी राख्छौं । हामीसँग गुमाउन केही बाँकी छैन ।’ उनले काउन्सिल र आयोगका अधिकारीहरुले आफूहरुको माग नसुनी चलखेल गरेर आफूहरुको इन्टर्न अन्योलग्रस्त बनाउन भूमिका खेलेको आरोप लगाए ।

केही दिनअघि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले विज्ञप्ति जारी गर्दै इन्टर्न नसकेर आएका विद्यार्थीहरुले सोही देशमा इन्टर्न गर्नुपर्ने र त्यसका लागि कुटनीतिक पहल गर्ने जनाएको थियो । तर, विद्यार्थीहरु सरकारको यो निर्णय अव्यवहारिक भएको आरोप लगाएका छन् । ‘अहिले कोभिड—१९ को नयाँ भेरियन्ट देखिएको छ । हाम्रो इन्टर्नका लागि सरकारले कुटनीतिक पहल गरेर बोर्डर खुलाउन सक्छ,’ यादवले थपे, ‘अहिले यो सम्भव र व्यवहारिक छैन ।’