काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा स्वास्थ्य उच्च अधिकारीहरुको सरुवापछि अस्पताल सञ्चालक समिति आफू अनुकूल बनाउने रणनीतिमा लागेको पाइएको छ । त्यसको प्रारम्भिक तयारी स्वरुप उनले अस्पताल सञ्चालक समितिका पदाधिकारीलाई लिखित स्पष्टीकरण पठाएका हुन् ।
यसअघि मन्त्री खतिवडाले केन्द्रीय अस्पतालका निर्देशकहरुलाई मन्त्रालयमै बोलाएर मौखिक स्पष्टीकरण सोधिसकेका छन् ।
मन्त्रालयले अस्पताल सञ्चालक समितिका पदाधिकारीलाई काटेका केही स्पष्टीकरण पत्र हेल्थआवाजले प्राप्त गरेको छ । १३ मंसिरमा एकै साथ पठाइएको पत्रमा नियुक्त भएपश्चात अस्पताल सञ्चालक समितिको तर्फबाट भएको काम कारवाहीबाट अस्पतालको क्षमता वृद्धि, सेवा प्रवाहको प्रभावकारिता तथा अस्पताल प्रशासनको व्यवस्थापन र कारकारवाही सहजीकरण हुन नसकेको आम जनगुनासो भएको हुँदा पदबाट हटाउनु नपर्ने कारण भए ७२ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।
मन्त्री खतिवडाको निर्देशनमा मन्त्रालयले कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, भेरी अस्पताल, डडेल्धुरा अस्पतालका विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई स्पष्टीकरण सोधेको हो ।
‘सबै संघीय अस्पताल विकास समितिका पदाधिकारी र सदस्यहरुलाई स्पष्टीकरण सोधिएको छ,’ मन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘चित्तबुझ्दो स्पष्टीकरण आएन भने बर्खास्त गरेर नयाँ समिति गठन गर्ने हो ।’ उनकाअनुसार विकास समितिका पदाधिकारी र सदस्यहरुको कारवाही सकिएपछि यो प्रक्रिया स्वतः मेडिकल सुपरिटेन्डेन्टमा सुरु हुनेछ ।
मन्त्रालय स्रोतकाअनुसार अधिकांश अस्पताल विकास र सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुले स्पष्टीकरण बुझाइसकेका छन् । ‘मन्त्रालयले सबै केन्द्रीय अस्पतालका पदाधिकारी र सदस्यलाई स्पष्टीकरण सोधेको हो,’ स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले भने, ‘चित्तबुझ्दो जवाफ नआए प्रक्रियाअनुसार कारवाही अगाडि बढ्छ ।’