२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबढी शुल्क लिएको आरोपसहित मणिपाल शिक्षण कलेज पोखरामा तालाबन्दी

बढी शुल्क लिएको आरोपसहित मणिपाल शिक्षण कलेज पोखरामा तालाबन्दी

विदेशी विद्यार्थी नआएपछि पुरुष छात्रावासमा १ कोठा १ व्यक्ति बाध्यकारी नियम


पोखरा—पोखरास्थित मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा अनेरास्ववियुको नेतृत्वमा गएको विद्यार्थी टोलीले प्रशासकीय भवनमा तालाबन्दी गरेको छ । मेडिकल पढ्ने विद्यार्थीहरुबाट मनोमानी ढंगले शुल्क लिएको आरोप मणिपाल कलेजमाथि लागेको छ ।

अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलका अनुसार चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा मणिपालले ६ लाख बढी लिएको देखिएको छ । यसअघिका ब्याजहरुबाट समेत विभिन्न शीर्षकमा बढी शुल्क लिएको भए पनि त्यसविरुद्ध आवाज नउठेको उनले बताए ।

मंसिर १९ गते मणिपाल प्रशासनलाई अनेरास्ववियु प्रतिनिधिसहित विद्यार्थी र अभिभावकले भेटेर २४ घन्टे अल्टिमेटम दिएकोमा बेवास्ता गरेपछि मेडिकल विद्यार्थीको हितमा दबाब दिन तालाबन्दी गर्नुपरेको उनको दाबी छ । ‘अहिलेका प्रधानमन्त्रीका नजिकका मान्छेबाट मणिपाल किनिएको भन्ने पनि छ । त्यसैले होला उहाँहरुको पेलेर जाने रबैया देखिएको छ,’ उनले भने ।

‘सेक्युरिटी डिपोजिट चार्ज २ लाख, होस्टेल अनिवार्य, १ व्यक्ति १ कोठा लिनैपर्ने र त्यसबापत १ लाख ३८ हजारलगायत अनावश्ययक रुपमा रकम उठाएको गुनासो आएपछि अन्य कलेजमा पनि बुझ्दा पनि लिइएको पाइएन,’ पौडेलले थपे ।

चिकित्सा शिक्षा आयोगले तोकिएकोबाहेक अन्य शीर्षकमा शुल्क नलिन भनेको भएपनि लिइरहेको विद्यार्थीहरुको गुनासो छ । केयुअन्तर्गतका केही कलेजले शुल्क लिएको भएपनि फिर्ता गरिसकेको विद्यार्थीहरुको भनाइ छ ।

‘हामीले आफैं मेडिकल कलेज रोजेर आउने कुरा पनि हुँदैन । चिकित्सा शिक्षा आयोगले पठाएपछि जाने हो,’ एक विद्यार्थीले नाम गोप्य राखिदिन आग्रह गर्दै भने, ‘आयोगले तोकेको शुल्कभन्दा बढी लिन त मिलेन नि । त्योभन्दा बाहिरको शीर्षकमा शुल्क उठाइएको छ ।’ चिकित्सा शिक्षा आयोगले उपत्यकाभित्र ४० लाख र उपत्यकाबाहिर ४४ लाख शुल्क लिन भनेकोमा मणिपालले थप शुल्क लिएको र त्यसबारे डिनसँग कुरा गर्न खोज्दा भर्ना हुने भए शुल्क बुझाउन धम्कीपूर्ण निर्देशन दिने गरेको उनको आरोप थियो ।

मणिपाल खरिद—बिक्रीपछि मेडिकल कलेजमा विदेशी विद्यार्थी नआएका कारण पुरुष छात्रावास अनिवार्य र १ व्यक्ति, १ कोठामा बस्न बाध्य पारिएको विद्यार्थीहरुको दाबी छ । तर, महिला छात्रावासमा भने १ कोठामा २ व्यक्ति बस्न पाइने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ