काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत स्वास्थ्यका रिपोर्टिङ हुने गरेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको रिपोर्टिङ कभरेज सम्बन्धि वार्षिक तथ्यांकले सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत स्वास्थ्यका रिपोर्टिङ हुने गरेको देखाएको हो।
सो प्रदेशमा शतप्रतिशतमध्ये ९० प्रतिशत समयमा नै रिपोर्टिङ हुने गरेको पाइएको छ। त्यस्तै, कर्णाली प्रदेश र प्रदेश १मा पनि शतप्रतिशत रिपोर्टिङ हुने गरेको तथ्यांकले देखाएको छ।
त्यसैगरी, स्वास्थ सेवाबारे गण्डकी प्रदेशमा ९९.९ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.८ प्रतिशत रिपोर्टिङ भएको पाइएको छ। जुन सन्तोषजनक नै भएको देखिन्छ । तर, बागमती प्रदेशमा भने ३७.२ प्रतिशत स्वास्थ्य संस्थाले स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट नबुझाएको पाइएको छ । तथ्यांकअनुसार सो प्रदेशमा स्वास्थ्यका रिपोर्टिङ वार्षिक ६२ प्रतिशत र समयमा हुने रिपोर्टिङ मात्रै ३६ प्रतिशत रहेको छ। यो दर अन्य प्रदेशभन्दा निकै न्यून रहेको छ।
सबैभन्दा सर्वसुलभ पहुँच र सरकारीदेखि निजी अस्पतालको संख्या पनि अन्य प्रदेशभन्दा बढी बागमतीमा भएता पनि यहाँका स्वास्थ्य संस्थाहरुले नियमित स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य रिपोर्ट नबुझाउने देखिएको छ। जसले गर्दा स्वास्थ्य नीति बनाउन सरकारलाई कठिन भैरहेको अवस्था छ।
तथ्यांकअनुसार बागमती प्रदेशमा सरकारीभन्दा निजी अस्पताल तथा स्वास्थ्य सँस्थाका रिपोर्टिङमात्र बढी हुने गरेको छ । स्वास्थ्य रिपोर्टिङमा मात्र हैन बागमती प्रदेश बिसिजी खोप कार्यक्रम र सुरक्षित मातृत्व कार्यक्रम देखि लिएर अन्य स्वास्थ्यसम्बन्धि कार्यक्रममा पछि परेको देखिन्छ।
