काठमाडौं—२६ मंसिरबाट खाली उपकुलपति रिक्त रहेको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ उपकुलपति बन्न तीन जनाको नाम चर्चामा छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार राप्तीको भिसीको चर्चामा डा. विदुर वस्ती, डा. वीरेन्द्र तिवारी र डा. विकास लामिछाने रहेका छन् ।
राष्ट्रिय स्वास्थ्य संघका संस्थापक अध्यक्षसमेत रहेका डा. विदुर वस्ती स्वास्थ्य मन्त्रीको पहिलो रोजाइका व्यक्ति हुन् । लामो समय चितवन बसेर प्राध्यापन पेशामा समेत गरेका वस्तीले भने आफूलाई भने यसमा रुचि नभएको बताउँछन् । ‘मलाई यसमा रुचि छैन्,’ उनी भन्छन्, ‘कसैले मलाई सोधेको पनि छैन ।’
स्वास्थ्य मन्त्रालय पूर्व सहसचिव (११ औं तह) बाट सेवा निवृत्त भएका डा. विकास लामिछाने पनि उपकुलपतिका दौडमा छन् । गृहजिल्लामा रहेको प्रतिष्ठान भएका कारण पनि राप्तीको उपकुलपतिमा उनको बढी चासो छ । ‘अघिल्लो पटक पनि मेरो चासो थियो, भएन,’ उनले भने, ‘आफ्नै गृहजिल्ला भएकाले रुचि हुनु स्वभाविक हो ।’
भिसीको दौडमा रहेका डा. वीरेन्द्र तिवारी अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् । नेपाललगायतका विभिन्न मुलुकहरुको अनुभव छ,’ उनी भन्छन्, ‘नयाँ बन्दै गरेको संस्थालाई संसारकै मोडल संस्था बनाउन मसँग भिजन भएकाले मैले रुचि देखाएको हो । मसँग अमेरिका, दक्षिण कोरिया, चीनलगायतका देशहरुको स्वास्थ्य संस्था र शिक्षाको अनुभव छ ।’ डा. तिवारीले नेपालमै कम खर्चमा राम्रो स्वास्थ्य शिक्षा र सेवा दिने संस्था बनाउनका लागि पनि आफू नयाँ ठाउँको नेतृत्व लिने चाहेको बताउँछन् ।