काठमाडौं—बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेजले पछिल्ला दुई वर्षमा ३ सय बढी बिरामीको इन्डोभास्कुलर पद्धतिबाट उपचार गरिएको जनाएको छ । आइतबार अस्पतालका संस्थापक डा. उपेन्द्र देवकोटाको जन्मजयन्तीको अवसर पारेर अस्पतालले उक्त जानकारी दिएको हो ।
अस्पतालले स्थापनाकालदेखि नै उच्च प्रविधीमा जोड दिएको उल्लेख गर्दै २ वर्षदेखि बायो—प्लेन क्याथल्याबको प्रयोग गरेर इन्डोभास्कुलर सेवा दिइरहेको उल्लेख गरेको छ । इन्डोभास्कुल त्यस्तो उपचार पद्धतिको जसको सहायताले पक्षघात तथा रक्तनलीको फुकुण्डो (एन्युरिज्म)जस्ता रोगहरुको टाउको नखोलीकनै उपचार गरिन्छ ।
‘एन्युरिज्मजस्तो जटिल समस्यामा पहिला टाउको खोलेर क्लिपिङ गरिन्थ्यो भने अहिले क्वाइलिङ अर्थात टाउको नखोलिकनै गरिने इन्डोभास्कुल विकल्प हामीले हाम्रा बिरामी र उनीहरुका परिवारमाझ राख्न पाएका छौं,’ अस्पतालले भनेको छ ।
यस्तै, अस्पतालले ५ शैय्याको एक्युट स्ट्रोक युनिट व्यवस्थापन गरी पक्षघातको पूर्ण सेवा प्रदान गरिरहेको छ ।
१ सय शैय्याको न्यूरो अस्पतालमा वार्षिक ३० हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । कोभिड—१९ को महामारीका कारण यसमा केही गिरावट आएकाले गत वर्ष २० हजारमा झरेको थियो । तर, अहिले कोभिड—१९ को महामारी अलि कम भएपछि पछिल्लो ८ महिनामा १९ हजार बिरामीले सेवा लिएको व्यवस्थापनले जनाएको छ ।
अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकसहित ३ सय बढी कर्मचारी कार्यरत रहेका छन् ।