काठमाडौंं—सरकारले विवादित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहितका पदाधिकारीलाई कामकाजमा रोक लगाउने तयारी गरेको छ । प्रधानमन्त्री कार्यलय स्रोतकाअनुसार यसअघि सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा संयोजकत्वको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा उपकुलपतिसहितका पदाधिकारीलाई कामकाज गर्न रोक लगाउने गरी प्रक्रिया अगाडि बढेको छ ।
प्रतिष्ठान ऐनमा कार्यकारी (उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक) माथि छानविन प्रक्रिया अगाडि बढेपछि कामकाजमा रोक लगाउन सक्ने अधिकार छ । सोही अधिकारलाई टेकेर सरकारले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरु खनाल र अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई निलम्बन गरी कामकाजमा रोक लगाउने तयारी गरेको स्रोतको दावी छ । अहिले कार्यकारी पदमध्येको एक रजिष्ट्रार खाली छ ।
उपकुलपति डा. गिरीसहितका कार्यकारीहरुलाई निलम्बन गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवलाई प्रतिष्ठानको कार्यकारी उपकुलपतिको अधिकार दिएर पठाइने बालुवाटारस्रोतको दावी छ । ‘सबै प्रक्रियाहरु अगाडि बढिसकेका छन्, अर्को निर्णय नभएसम्मका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवलाई कार्यकारी अधिकार दिएर विपी प्रतिष्ठान पठाउने तयारी छ,’ स्रोतले भन्यो, ‘केही दिनमै सिनेट बैठक बसाएर यो निर्णय हुनेछ ।’
किन सिधैं हटाउन सकेन डा. गिरीलाई ?
झण्डै ६ महिनादेखि विवादमा पर्दै आएको प्रतिष्ठानका विषयमा आधा दर्जनभन्दा बढी छानविन समिति बनिसकेका छन् । ती सबै समितिले सरकारलाई छानविन प्रतिवेदनहरु समेत बुझाइसकेका छन् ।
तर पनि प्रतिष्ठानका पदाधिकारीलाई हटाउन कुलपतिसमेत रहेका प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले आँट गरिरहेका छैनन् । आखिर किन त ? जानकारहरुकाअनुसार सिनेट बैठकमा उपकुलपति र पदाधिकारीका विरुद्धमा बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री निर्णय लिन हच्किएका हुन् ।
२५ जनाको सिनेटमा अहिले १८ जनामात्र सदस्य रहेका छन् । तीमध्ये बहुमत सदस्य उपकुलपति गिरीकै पक्षमा देखिएपछि प्रधानमन्त्री समेत रहेका प्रतिष्ठानका कुलपति शेरबहादुर देउवा सिनेट बैठकमा उपकुलपतिसहितका पदाधिकारी हटाउने प्रस्ताव लैजानबाट प्रधानमन्त्री पछि हटेका हुन् ।
रेक्टर र निर्देशकलाई फकाउँदैं भिसी हटाउन कोरम पु¥याउने तयारी
प्रतिष्ठानका रेक्टर डा. खनाल र प्रतिष्ठानको अस्पतालका निर्देशक डा. साहलाई फकाउने कोरम पु¥याउने तयारीमा प्रधानमन्त्री रहेका छन् । डा. खनालको १० महिना कार्यवधि बाँकी छ भने डा. साहको जेठमा कार्यवधि सकिदैंछ ।
प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँगै माओवादी केन्द्र निकट नेताहरुले १० महिना समायावधि रहेका डा. खनाल र ६ महिना समयावधि रहेका डा. साहलाई पूरा कार्यकाल काम गर्न दिने शर्तमा उपकुलपति विरुद्धमा बहुमत पु¥याउन कसरत थालेका छन् ।
माओवादी केन्द्र निकट रहेका डा. खनाल र थोरै समय बाँकी रहेका डा. साहलाई पनि आफूहरुमाथि हटाइएको भनी लाग्ने दागबाट जोगिनलाई पनि यसले सहयोग पुग्नेछ । रेक्टर र अस्पताल निर्देशक जता खुल्छन् सिनेटमा उतै बहुमत पुग्ने अंकगणित छ ।