२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२१ वर्षपछि मुहार फेर्दै स्तुपा सामुदायिक अस्पताल, चुच्चेपाटीमा ७ तले अत्याधुनिक भवन बन्दैं

२१ वर्षपछि मुहार फेर्दै स्तुपा सामुदायिक अस्पताल, चुच्चेपाटीमा ७ तले अत्याधुनिक भवन बन्दैं


काठमाडौं—सञ्चालनमा आएको २१ वर्षपछि वौद्धस्थित स्तुपा सामुदायिक अस्पतालमा मुहार फेर्ने तरखरमा छ । अहिले भाडाको भवनबाट सञ्चालित ५५ शैय्याको यो सामुदायिक अस्पताल अबको ६ महिनादेखि १ वर्षभित्रमा चुच्चेपाटीस्थित आफ्नै अत्याधुनिक भवनबाट सञ्चालनमा आउनेछ ।

स्तुपा सहकारी संस्थाबाट सञ्चालित यो सामुदायिक अस्पतालको ७ तले भवन अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ । ‘हामी ६ महिनादेखि १ वर्षभित्र नयाँ भवनबाट सेवा सुचारु गर्ने तयारीमा छौं,’ स्तुपा सामुदायिक अस्पतालका मेडिकल निर्देशक डा. पेम्बा लामाले हेल्थआवाजसँग भने, ‘अहिले चुच्चेपाटीमा हाम्रो आफ्नै भवन बनिरहेको छ । त्यहाँ अत्याधुनिक सेटअपमा अस्पताल सञ्चालन हुनेछ ।’

नयाँ भवनबाट सेवा दिन सुरु भएसँगै अस्पताललाई १ सय ५० शैय्याको बनाउने तयारी व्यवस्थापनको छ । ‘हाम्रो त्यहाँ झण्डै ४ रोपनी क्षेत्रफलमा अस्पताल बनिरहेको छ,’ डा. लामाले भने, ‘त्यो भवनबाट सेवा दिन थालेपछि हामीले अस्पताललाई १ सय ५० शैय्यामा स्तरोन्नती गर्ने तयारी छ ।’ उनकाअनुसार अस्पताल नयाँ भवनबाट सञ्चालनमा आएसँगै १० बेडको आईसीयु, ६ बेडको एनआईसीयु र १० बेडको डेडिकेटेड इमर्जेन्सी सञ्चालन हुनेछ भने अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्दैछ ।

५५ करोड बढी लगानीमा तयारी हुने अस्पातलको नयाँ भवनबाट सबै विशेषज्ञ सेवाहरु सञ्चालन गर्ने तयारी छ ।

अहिले स्तुपा सामुदायिक अस्पतालमा १ सय जना कर्मचारी कार्यरत छन् । जसमध्ये ४ जना फुलटाइम कन्सल्ट्यान्ट चिकित्सक र १८ जना जति पार्टटाइम कन्सल्ट्यान्ट चिकित्सकले बिरामीलाई सेवा दिने गर्छन् । नयाँ भवनबाट सेवा भएर अस्पतालको १ सय ५० शैय्याको अनुमति पाएसँगै कर्मचारीको संख्या कम्तिमा ३ सय पुग्नेछ ।

स्तुपा अस्पतालबाट अहिले औसतमा दैनिक १ सय जना बिरामीले सेवा लिने गरेको डा. लामाले जानकारी दिए । ‘अस्पतालबाट दैनिक औसतमा १ सय जना बिरामीले सेवा लिन्छन्,’ उनले भने, ‘हामी वार्षिक रुपमा ३५—३६ हजार बिरामीलाई सेवा दिइरहेका छौं ।’ वि.सं. २०५७ सालमा सालमा स्थापना भएको स्तुपा सामुदायिक अस्पतालमा अहिले ७ सय ५० जना सेयर होल्डर छन् । सेयर होल्डरले अस्पतालमा उपचारमा २५ प्रतिशत छुट पाउने गर्छन् ।

१५ वर्षदेखि स्तुपा अस्पतालको जोरपाटीमा आफ्नै नर्सिङ तथा पारामेडिक्स कलेज नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स (स्तुपा कलेज) सञ्चालनमा छ । कलेजले पिसिएल नर्सिङ, पिसिएल जनरल मेडिसिन, डिप्लोमा इन फार्मेसी, पिसिएल इन मेडिकल ल्याब्रोटोरी टेक्नीसियन, बिएस्सी नर्सिङ, बिएन, बिपिएच गरी ८ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

तर, चिकित्सा शिक्षा ऐनको पछिल्लो व्यवस्थाअनुसार अहिले कलेजले डिप्लोमा इन फार्मेसी र सिएमएलटी मात्रै सञ्चालनमा छन् । ‘नर्सिङ कार्यक्रम चलाउन आफ्नै १ सय शैय्याको अस्पताल हुनुपर्ने व्यवस्था भएपछि अरु कार्यक्रम बन्द छन्,’ डा. लामाले भने, ‘यसले अस्पताललाई आर्थिक रुपमा पनि असर गरेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ