काठमाडौं – त्रिशुली अस्पताल नुवाकोटले तीन वेडको शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआईसीयु) संचालनमा ल्याएको छ । बुधबार अस्पतालले एक कार्यक्रमबीच २ भेन्टिलेटरसहित ३ बेडको एनआईसीयुको उद्घाटन गरेको हो।
अस्पतालका विकास समितिका अध्यक्ष अर्जुन न्यौपानले एनआईसीयुको उद्घाटन गरेका हुन्।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय, स्थानीय निकाय र नागरिकको संयुक्त सहयोगमा एनआईसीयु संचालन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए। एनआईसीयु सेवा संचालनमा आएसँगै शिशु मृत्युदर रोक्न मद्दत मिल्ने उनले बताए।
‘जन्मेको २८ दिनको नवजात शिशुको उपचारका लागि तुरुन्त काठमाडौं पठाउनुपर्ने अवस्था थियो,’ सुपरिटेन्डेन्ट डा. पाण्डेले भने,’तर, एनआईसीयु सेवा संचालनमा आएपछि यहाँका वासिन्दाले काठमाडौंसम्म धाउन पर्नेछैन।’ नुवाकोट, रसुवा र धादिङको नागरिकलाई निकै सहज हुने अस्पतालले अपेक्षा राखेको उनले बताए।
पेडियाट्रिक चिकित्सक डा. ऋषिकेश रेग्मीको नेतृत्वमा एनआईसीयु संचालनमा आएको हो। जसमा तालिम प्राप्त ५ जना नर्स र केही मेडिकल अधिकृतहरु पनि रहेका छन्।
गत वर्ष अस्पतालले ६ शैय्याको आईसीयु संचालनमा ल्याएको थियो। अस्पतालले सेवाहरु थप विस्तार भएसँगै त्यहाँका वासिन्दाले ठूलो राहत पाएका छन्।