काठमाडौं-औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जथाभावी औषधीको मुल्यवृद्धि गरेको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइल ल्याएर मन्त्रालयमा थन्क्याएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफै छानविन अगाडि बढाएको छ ।
कानुन विपरित औषधीको मुल्यवृद्धि भएको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागबाट पछिल्लो २ वर्ष मुल्य बढाएको औषधीका कागजात लगेको थियो । सोही समय स्वास्थ्य मन्त्रालयले पनि कागजात ल्याएपछि अख्तियारले मन्त्रालयको छानविनको बाटो कुरेको थियो ।
तर, विभागबाट कागजात ल्याएको एक महिना नाघिसक्दा पनि छानविन प्रक्रिया अगाडि नबढाएपछि अख्तियार आफैले छानविन प्रक्रिया सुरु गरेको अख्तियारका एक उच्चअधिकारीले जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालयले पनि हामीसँगै कागजात लगेको हुँदा पहिले विभागीय छानविन होस् भन्ने चाहेका थियौं,’ ती अधिकारीले भने, ‘तर, कागजात लगेर थन्क्याएको मात्र थाहा भएपछि हामी आफैले छानविन प्रक्रिया अगाडि बढाइसकेका छौं ।’
मन्त्रालयले कागजात ल्याएर अध्ययन गर्न दिएका मध्येका एक अधिकारी पनि औषधीको मुल्य बढाउने प्रक्रियामा सहभागी भएको प्रारम्भिक छानविनमा देखिएको अख्तियारका ती अधिकारीले बताए । ‘मन्त्रालयले औषधीको मुल्यवृद्धिको विषयमा अध्ययन गर्न लगाएका भनेका एक अधिकारी पनि सो प्रक्रियामा सामेल भएको प्रारम्भिक अध्ययनमा देखिएको छ,’ उनले भने, ‘१२ चैत्र २०७४ को निर्णय अनुसार नै उनी पनि त्यसमा सामेल भएको देखिन्छ । यी सबै कुरा हेर्दा मन्त्रालयले टार्न खोजेको देखिन्छ ।’
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सुरुमा निकै चासो दिएतापनि अहिले मन्त्रीले वास्ता गर्न छोडेको मन्त्रीको सचिवालयका एक सदस्यले हेल्थआवाजलाई बताए । मन्त्री र सोभन्दा माथिल्लो तहबाटै कुरा मिलिसकेको उनको भनाइ छ । ‘मन्त्री र सोभन्दा माथिबाट पनि कुरा मिलिसकेको छ,’ ती सदस्यले भने, ‘मन्त्रीले अहिले खासै वास्ता गर्नुभएको जस्तो लाग्दैन्, कुरा आफै बुझ्नुहोस् ।’
महालेखा परीक्षकको कार्यलयको प्रारम्भिक प्रतिवेदनमा औषधी व्यवस्था विभागका तत्कालीन (हाल बहालवाला पनि) महानिर्देशक र २ निमित्त महानिर्देशकले कानुन विपरित औषधीको मुल्य बढाइदिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कार्वाही गर्न पत्राचार गरेको थियो । तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले महालेखाको पत्र पाउनासाथ उनलाई मन्त्रालय तानेका थिए ।
तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनले गृहजिल्लाका नेता गोपालमान श्रेष्ठको फेरो समाएर पुनः महानिर्देशकको पद पाउन सफल भएका हुन् । महानिर्देशकले कानुन विपरित औषधीको मुल्यवृद्धि गरेको विषयमा हेल्थआवाजले प्रमाणसहित समाचार प्रकाशन गरेपछि स्वास्थ्य मन्त्रालयले उनलाई एक हप्ते स्पष्टीकरण सोधेको थियो । मन्त्रालयको गुणस्तर मापन माहाशाखामार्फत सोधिएको स्पष्टीकरणमा पछिल्ला २ वर्षको मुल्यवृद्धि गरिएका सम्पूर्ण कागजात माग गरेको थियो । तर, विभागले एक वर्षको मात्र पठाएको छ ।
यो पनि पढ्नुस्