२०८२ वैशाख ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकुण्डलिनी स्कुलमा प्राथमिक स्वास्थ्य उपचार केन्द्र

कुण्डलिनी स्कुलमा प्राथमिक स्वास्थ्य उपचार केन्द्र


काठमाडौं – काठमाडौंको गोकर्ण, नयाँपाटीमा अवस्थित कुण्डलिनी स्कुलमा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ । लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको सहयोगमा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको हो।

सो भवनको उद्घाटन लायन्स क्लब इन्टरनेसनल नेपाल ३२५ ए टु का डिष्ट्रिक्ट गभर्नर लायन केशब पाण्डे, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर दिनेश प्रसाद श्रेष्ठ लगायतले गरेका हुन् ।

एक्सरे मेसिन, अक्सिजन कन्सनट्रेटर, औषधी, अक्सिजन स्ट्यान्ड, मेडिकल टेबलसहित ४ वटा बेड रहेको सो भवन लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन, लायन्स क्लब वेइन ओष्टारिचीको सहयोग तथा लायन्स क्लब भक्तपुर स्वीट होमको समन्वयमा २५ लाख लागतमा निर्माण भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन केशब पाण्डेले बोटल हाउसबाट सुरु भएको सेवाको अभियान कुण्डलिनी स्कुल र मेडिकल सेन्टरसम्म आइपुग्नु निकै खुशीको कुरा भन्दै लायन्स क्लबमा आवद्ध सबै लायनहरुले पेशासँगै सामाजिक क्षेत्रमा पनि काम गर्दै जानुपर्ने बताए ।

स्कुलमा स्थापना भएको प्राथमिक स्वास्थ्य उपचार केन्द्रले स्थानीय समुदायलाई पनि सेवा दिन सके अझ राम्रो हुने फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन दिनेश प्रसाद श्रेष्ठले जनाए ।

प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापनाको अवसरमा कुण्डलिनी स्कुलमा अध्ययनरत विद्यार्थीहरुको आँखा र दाँतको परीक्षण गरिएको थियो । ओम समाज डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा दन्त शिविर र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा आँखा शिविर सम्पन्न भएको थियो ।

कुण्डलिनी स्कुलका प्रबन्ध निर्देशक, समाजसेवी, पर्यटन व्यवसायी तथा लायन्स क्लब भक्तपुर स्वीट होमका चार्टर प्रेसिडेन्ट लायन सुदामा कार्कीले अनाथहरुका लागि २००८ मा स्थापना गरिएको बोटल हाउस सबैको साथ र सहयोगले कुण्डलिनी स्कुलसम्म आइपुगेको बताए ।

हाल बोटल हाउसमा ५० भन्दा बढी अनाथ बालबालिकाहरु बसेर कुण्डलिनी स्कुलमा अध्ययन गरिरहेका छन् । देशभरमा बाबुआमा नभएका कोहि अनाथ पढ्न नपाएर बसेको भए जति जना आए पनि आफू पढाउन तयार रहेको कुण्डलिनी स्कुलका प्रबन्ध निर्देशक लायन कार्कीले बताए । नेपालमा लायन्स क्लब १५ वटा डिष्ट्रिक्टमा विभाजित हुँदैछन् । यसै क्रममा एउटा डिष्ट्रिक्टको महत्वपूर्ण पदमा रही सामाजिक कार्य अघि बढाउने योजनामा कार्की छन् ।

कार्यक्रममा अष्ट्रियाका नागरिक ड्यानियला लिबेदटले १६ वर्ष भन्दा माथिका विशेषगरी अनाथ बालबालिकालाई आत्मनिर्भर बनाउन पत्रकारिता, कम्प्युटर र बरिष्ता तालिम प्रदान गर्न लागिएको बताइन् । लायन प्रकाश ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा कुण्डलिनी स्कुलका प्रिन्सिपल लायन केबल पण्डितले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ