२०८१ फागुन २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन जनशक्ति उत्पादनमा ध्यान दिन आवश्यक : डा. पोखरेल

स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन जनशक्ति उत्पादनमा ध्यान दिन आवश्यक : डा. पोखरेल


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन जनशक्ति उत्पादनमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

बुधबार सामाजिक परिवर्तन केन्द्रले राजधानीमा आयोजना गरेको ‘संघीय संरचनामा स्वास्थ्य नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन जनशक्तिको उचित उपयोग र उत्पादनमा  ध्यान दिन आवश्यक रहेको जनाएका हुन् ।

‘स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउने लक्ष्य प्राप्तिका लागि जनशक्तिको उचित उपयोग र उत्पादनमा ध्यान दिनुपर्ने देखिएको छ,’उनले भने,’ जनशक्तिको अभावका कारण योजना अनुरुप राष्ट्रिय/ अन्तर्राष्ट्रिय लक्ष्यहरु हासिल गर्न सकेका छैनन् ।’

स्वास्थ्य सेवा निःशुल्क र आकस्मिक स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक वञ्चित गर्न नपाइने कानुन नेपालको संविधानमा उल्लेख भएपनि सरकारले आफ्नो प्रतिवद्धता पूरा गर्न नसकेको कारण हालसम्म यो व्यवहारमा कार्यन्वयन हुन नसकेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै  नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालले स्वास्थ्य अनुसन्धानको नीति निर्माण र अनुमतिका निम्ति एचएचआरसी अझैपनि मन्त्रालयकै भर परेको बताए।

‘स्वास्थ्य अनुसन्धानको नीति निर्माण र अनुमतिका निम्ति एचएचआरसी अझैपनि मन्त्रालयमै निर्भर रहनु पर्ने बाध्यता छ,’ उनले भने, ‘स्वास्थ्य अनुसन्धान बनाउन नीति, नियमनहरु एकदम कम छन् ।सर्वसुलभ स्वास्थ्य नीतिका लागि राज्यले यस क्षेत्रको दायरालाई फराकिलो पार्नुपर्ने र निर्माण कालदेखि नै परिवर्तन नभएको एनएचआरसीको नीतिमा पनि संसोधन गरिनुपर्ने  देखिन्छ।’

स्वास्थ्यको  नीतिनियममा मात्रै नभई त्यसको कार्यावन्यनमा ध्यान दिनुपर्ने कार्यक्रममा सहभागी वरिष्ठ जनस्वास्थ्य अधिकारी डा रवि कान्त मिश्रले उल्लेख गरे । यसको साथै उनले जनशक्ति उत्पादनमा हामी चुकिरहेको बताए । विदेश पलायन भएका नेपालीको (धेरै नेपाली नागरिक भएको अन्तर्राष्ट्रिय देशको हकमा ) स्वास्थ्यसम्बन्धी पनि नीति बन्ने योजना भैरहेको उनले जानकारी गराए ।

नेपालको स्वास्थ्य नीति  निकै महत्वकांक्षी भएको लागेको भन्दै यसमा केहि परिवर्तन गर्नुपर्ने देखिएको कार्यक्रममा सहभागी सामुदायिक स्वास्थ्य सेवा कार्यक्रम विशेषज्ञ रश्मि पौडेलको टिप्पणी छ । सरकारले लक्ष्य बनाए पनि त्यसैअन्तर्गत कामहरु नभैरहेको उनको भनाइ छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ