२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविदेशमा चिकित्सा शिक्षामा भर्ना भएका नेपाली विद्यार्थीले नेपालमै पढ्न पाउने मन्त्रिपरिषद्को निर्णय

विदेशमा चिकित्सा शिक्षामा भर्ना भएका नेपाली विद्यार्थीले नेपालमै पढ्न पाउने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं—नेपाल सरकारले विदेशमा चिकित्सा शिक्षाका स्नातक तह पढ्न गएका विद्यार्थी अप्ठ्यारो परेका बेलामा नेपालमै अध्ययन गर्न पाउने सैद्धान्तिक सहमति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा चीनलगायतका मुलुकमा भर्ना भएका नेपाली विद्यार्थीलाई नेपालमै पढ्न पाउने गरी सैद्धान्तिक स्वीकृती दिएको हो ।

मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारको यो निर्णयसँगै कोभिड—१९ को महामारी कारण देखाउँदैं चीनलगायत विभिन्न देशमा भर्ना भएका तर जान नसकेका विद्यार्थीहरुले नेपालमै बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप नेपालमै गर्ने बाटो खुलेको हो । यसअघि सरकारले दुई ब्याचका अध्ययन र प्रयोगात्मक अभ्यास पूरा गरी फर्केका विद्यार्थीलाई नेपालमै इन्टर्नसीप गर्न पाउने गरी व्यवस्था मिलाएको थियो । अन्य ब्याचका विद्यार्थीहरुलाई पढिरहेकै देशका शैक्षिक संस्थामा थप अध्ययन र इन्टर्नसीपका लागि कुटनीतिक पहल गर्ने भन्दैं शिक्षा मन्त्रालयले विज्ञप्ती समेत जारी गरेको थियो ।

तर, सरकारले कुटनीतिक प्रयास नगरेर बाँकी रहेको अध्ययन र इन्टर्नसीप नेपालमै गराउने सैद्धान्तिक स्वीकृती दिएको छ ।

कोभिड—१९ का कारण चीनको बुहानबाट नेपाल सरकारले सन् २०१९ मा अधिकांश चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीलाई एयरलिफ्ट गरेर नेपाल ल्याएको थियो । पहिलो पटक विद्यार्थी ल्याएसँगै नियमित रुपमा चीनबाट विद्यार्थीहरु नेपाल फर्कन थाले । तर, चीन सरकारले विद्यार्थीहरुलाई फर्कनका लागि अहिलेसम्म स्वीकृती दिएको छैन ।

व्यापारिक प्रयोजनका लागि भने चीनले नेपालीलाई चीन जान—आउन रोक लगाएको छैन । तर, सरकारको कुटनीतिक कमजोरीका कारण विद्यार्थीहरु भने चीन फर्कन नपाएर मारमा पर्दै आएका छन् । जसका कारण झण्डै २ सय हाराहारी चिकित्सा शिक्षाका स्नातक कार्यक्रम पढ्ने विद्यार्थी एक वर्षदेखि आन्दोलनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ