काठमाडौं—दक्षिण छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमण तीब्र बनेसँगै नेपालमा पनि संक्रमण निरन्तर उकालो लागिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ३३ हजार ९ सय ४६ पुगेको छ । नेपालमा २ सय निकट झरिसकेको कोभिड संक्रमण पछिल्ला तीन दिन यता निरन्तर उकालो लाग्दो क्रममा छ । आइतबार १ हजार १ सय ६६ जनामा कोभिड संक्रमण देखिएको थियो भने शनिबार ९४४ जनामा कोभिड-१९ संक्रमण देखिएको थियो ।
त्यसअघि शुक्रबार ९ सय ६८, बिहीबार ५४० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । बुधबार ४३५ जनामा कोभिड पोजेटिभ देखिएको थियो भने मंगलबार ३९३ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार सोमबार २५५ जना कोभिड-१९ संक्रमित निको भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ८ लाख १४ हजार ४ सय ८५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ६ पुगेको छ ।