काठमाडौं—नेपालमा कोभिड—१९ को तेस्रो लहर सुरु भएसँगै शिक्षण संस्थामा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयमा बसेको शिक्षाका उच्च अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले जारी गरेको ७ बुँदे सूचनामा उक्त कुरा उल्लेख छ । सूचनाको बुँदा नं. ५ मा भनिएको छ, ‘माघ ७ गतेदेखि शिक्षण संस्था प्रवेश गर्ने सबैले खोप कार्ड अनिवार्य रुपमा साथमा राख्ने प्रबन्ध सम्बन्धित शिक्षण संस्थाले मिलाउने ।’
मन्त्रालयले कोभिड—१९ को संक्रमणलाई मध्यनजर गर्दै २७ पुसदेखि १५ माघसम्म देशभरका विद्यालयमा विदा दिएको छ ।
यस्तै, विश्वविद्यालय र प्रतिष्ठानका पूर्व निर्धारित परीक्षाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न, परीक्षा केन्द्रहरुमा मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गर्न पनि मन्त्रालयले भनेको छ । यसैगरी, १८ वर्ष उमेर वा सो भन्दा माथि सबै उमेरका खोप लगाउन बाँकी विद्यार्थी, शिक्षक र कर्मचारी तथा अभिभावकहरुले खोपका लागि स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमा सम्पर्क गर्न भनिएको छ ।
प्रधानाध्यापकले स्थानीय तहको स्वास्थ्य चौकीसँग सम्पर्क गरी बिदामा १२ वर्षभन्दा माथि र १७ वर्षसम्मका विद्यार्थीलाई खोप लगाउन समन्वय र सहजीकरण गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले अभिभावक दिवस र वार्षिकोत्सवजस्ता कार्यक्रममा पनि रोक लगाएको छ । ‘सर्वागिण विकास लागि योग’ भन्ने नाराका साथ १ माघमा मनाउन लागिएको राष्ट्रिय योग दिवसलाई भर्चुअल माध्यमबाट मनाउन निर्देशन दिइएको छ ।
