काठमाडौं—चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएसको शुल्क आयोगले तोकेको भन्दा बढी नलिनेमा मेडिकल कलेजका सञ्चालकहरु तयार भएका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजलगायतमा शुल्क विवाद देखिएपछि बोलाएको बैठकमा मेडिकल सञ्चालकहरु बढी शुल्क नलिन सहमत भएका हुन् ।
यस्तै, छात्रावासका बारेमा देखिदैं आएको शुल्क सम्बन्धी विवादका भने कलेजका सञ्चालक, अभिभावक र विद्यार्थीको छलफलबाट तय गर्ने सहमति भएको छ ।
विश्वविद्यालय, विषयगत काउन्सिल, शिक्षण संस्थालाई बुझाउनुपर्ने शुल्कका विषयमा भने आयोगले आगामी शैक्षिक सत्रदेखि निर्धारण गर्नका लागि कार्य सुरु गर्ने मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले छलफलपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यन्वयनका सन्दर्भका देखिएका असहजता निवारणका लागि सम्बन्धित निकाय, विज्ञ तथा अन्य सरोकारवालासँग छलफल एवं परामर्श गरेर संशोधनका सम्बन्धमा आयोगले अबिलम्ब राय दिने सहमति भएको छ भने सिट रिक्त रहने समस्यालाई सम्बोधन गर्न एकीकृत प्रवेश परीक्षाको प्रणालीमा आयोगले सुधार गर्ने विज्ञप्तिमा उल्लेख छ ।
