२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका ११ अस्पतालका ५ सय बढी चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी कोभिड संक्रमित

काठमाडौंका ११ अस्पतालका ५ सय बढी चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी कोभिड संक्रमित

कुन अस्पतालमा कति ?


काठमाडौं—कोभिड—१९ को तेस्रो लहरमा काठमाडौंका प्रमुख ९ केन्द्रीय अस्पतालका ५ सय चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मीहरुमा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । आइतबारसम्म हेल्थआवाजले संकलन गरेको तथ्यांकअनुसार राजधानीका प्रमुख अस्पतालहरुमा ५ सय २४ जना चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मीहरुमा कोभिड—१९ पुष्टि भएको छ ।

अस्पतालमा निर्देशकहरुले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुमा कोभिड—१९ संक्रमण देखिएपछि अस्पतालको सेवामा समस्या सिर्जना भएको प्रतिक्रिया हेल्थआवाजलाई दिएका छन् । मुलुककै प्रमुख अस्पताल त्रिवि शिक्षण अस्पतालमा अस्पतालमा १ सय ५० बढी चिकित्सक, नर्स र अन्य कर्मचारीहरुमा संक्रमण देखिएको अस्पतालमा निर्देशक डा. दिनेश काफ्ले जानकारी दिए । ‘अहिले कोभिड—१९ भुँसको आगो जसरी फैलिरहेको छ,’ उनले भने, ‘हाम्रा १ सय ५० बढी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुमा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । यसले अस्पतालका सेवाहरुमा सञ्चालनमा पनि ठूलो समस्या सिर्जना भएको छ ।’

अर्को प्रमुख अस्पताल सिभिल सर्भिस अस्पतालमा पनि ७२ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । ‘एक दर्जन चिकित्सक, तीन दर्जन नर्स र दुई दर्जन अन्य कर्मचारीमा कोभिड—१९ संक्रमण देखिएको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधी पौडेलले भने । ल्याबका धेरै कर्मचारी संक्रमित भएपछि पिसिआर ल्याबलाई पूर्ण क्षमतामा काम गर्न समस्या भएको उनले जानकारी दिए । ‘झण्डै २५ प्रतिशत चिकित्सक र नर्स एवं ८० प्रतिशत ल्याबका कर्मचारीमा कोभिड पोजेटिभ देखिएको छ,’ उनले थपे, ‘सिष्टरहरु कम हुँदै गएका छन्, डाक्टरहरुमा पनि पोजेटिभ देखिरहेको छ । यसले फुलफेजमा अस्पताल चलाउनै समस्या भइरहेको छ ।’

वीर अस्पतालमा ४८ जना बढी स्वास्थ्यकर्मी कोभिड—१९ बाट संक्रमित भएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले बताए । ‘२० जना नर्स, १४ जना डाक्टर र अन्य कर्मचारी गरेर ४८ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ,’ उनले भने, ‘यसले काममा पनि असर गरेको छ, समस्या हुँदोरहेछ ।’ वीरमा २४ घण्टा पिसिआर गर्नुपर्ने भएकाले ल्याबका २—३ जनालाई कोभिड—१९ पुष्टि भएपछि ल्याब चलाउन पनि समस्या भएको उनले जानकारी दिए । डा. बस्नेत बिरामीले प्रिकसन नलिने र स्वास्थ्यकर्मीले बिरामी हेर्नुपर्ने भएकाले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित हुने पुगेको बताए ।

शहीद गंगालाल हृदय रोग केन्द्रका ३० जना जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीकाअनुसार यो संख्या अझै बढ्न सक्छ । ‘भोलिमात्रै विस्तृत तथ्यांक आउँछ,’ उनले हेल्थआवाजसँग भने, ‘अहिलेसम्म ३० जना बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।’

पाटन अस्पतालमा ५० जना बढी संक्रमित भएको अस्पतालमा निर्देशक डा. रवि शाक्यले जानकारी दिए । ‘हाम्रो अस्पतालका ३० जना नर्स र अन्य चिकित्सक एवं कर्मचारीसहित ५० जनाभन्दा बढी संक्रमित भएका छन्,’ डा. शाक्यले भने, ‘एभ्री डे संक्रमित हुनेको संख्या बढिरहेको छ ।’

थापाथलीस्थित परोपकार स्त्री तथा प्रसुती गृहमा ६३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालका निर्देशक डा. आमिरबाबु श्रेष्ठकाअनुसार २८ जना चिकित्सक, २० जना नर्स र १५ जना अन्य कर्मचारीसंक्रमित भएका छन् । ‘सबै सेवा निरन्तर छ । तर, ठूलो जनशक्ति संक्रमित हुँदा कामको चाप बढेर गएको छ,’ डा. श्रेष्ठका भन्छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टर ७ जना चिकित्सक र नर्सलगायतका अन्य कर्मचारी गरी ३५ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा ४ जना चिकित्सकसहित नर्स, पारामेडिक्स गरेर ३२ जना संक्रमित भएको अस्पतालका कोभिड फोकल पर्सन डा. प्रवीण नेपालले जानकारी दिए । ‘यसले सेवामा अप्ठ्यारो भइसकेको छ,’ उनले भने, ‘अरु बिरामी लिन गाह्रो भइसकेको छ । केही दिनमै यो चुनौतीपूर्ण अवस्थामा आउँछ ।’ अस्पतालमा ४ जना भेन्टीलेर ७ जना आईसीयुमा गरी जम्मा १ सय जना कोभिड—१९ संक्रमितको उपचार भइरहेको छ ।

कान्ति बाल अस्पतालमा  १० जना स्वास्थ्यकर्मी कोभिड—१९ बाट संक्रमित भएका छन् । ‘धेरैजसोलाई हल्का रुघाखोकी र घाँटी समात्ने समस्या भएकाले कतिले टेष्ट गरेका छैनन् । सूचना निकालेर ४ दिन आइसोलेसन बसेर ड्युटीमा आउन निर्देशन दिएका छौं,’ अस्पतालका निर्देशक डा. अजित रायमाझीले भने । कोभिड—१९ का लागि सुरक्षाका सबै मापदण्ड स्वास्थ्यकर्मीलाई अपनाउन निर्देशनसमेत दिइएको उनले जानकारी दिए ।

यस्तै, शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलले ३ जना नर्ससहित ६ जना स्वास्थ्यकर्मी संक्रमित भएको जानकारी दिइन् । यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरमा पनि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जन संक्रमित भएका छन् । ट्रमाका निर्देशक डा. प्रमोद जोशीकाअनुसार ल्याबका ५ जना र ७ जना अन्य स्वास्थ्यकर्मीमा कोभिड पुष्टि भएको हो ।

नेपाल प्रहरी अस्पतालमा २ जना चिकित्सक, नर्ससहित अन्य १२ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ संक्रमण पुष्टि भएको अस्पतालका फोकल पर्सन डा. सुन्दर हैजुले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ