काठमाडौं—काठमाडौं उपत्यकाका कर्पोरेट हाउसहरुमा १ हजारमै सरकारले निःशुल्क रुपमा प्रदान गर्दै आएको भ्याक्सिन पुग्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौं स्रोतकाअनुसार कर्पोरेट हाउसमा १ हजारका दरले अफिसमै गएर खोप लगाउने गरेको मौखिक उजुरी परेको छ ।
सरकारले सार्वजनिक निकायमा खोप कार्ड अनिवार्य गराएसँगै खोप केन्द्रमा गएर खोप लगाउने भिड बढेको छ । त्यसलाई क्यास गर्दै बिचौलियाहरुले सरकारले निःशुल्क वितरण गरिरहेको खोप कर्पोरेट हाउसमै अवैध रुपमा बेच्न थालेका हुन् ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पनि कर्पोरेट हाउसमा १ हजार रुपैयाँका दरले खोप बिक्री भइरहेको सूचना आफू कहाँ आएको जानकारी दिए । ‘केही कर्पोरेट हाउसहरुमै पुगेर १ हजार रुपैयाँ प्रति डोजमा खोप लगाइन थालेको सूचना आएको छ,’ उनले भने, ‘अब कडाइ नगरे खोप कालोबजारी हुने अवस्था देखियो ।’ तर, कुन कर्पोरेट हाउसहरूमा खोप बिक्री भयो भन्ने अनुसन्धानमा भएकाले उनले खुलाउन मानेनन् ।
यस विषयमा काठमाडौंका जिल्लाका स्वास्थ्य प्रमुख शम्भु काफ्लेले आफूले पनि उक्त सूचना पाएकोले यस सम्बन्ध अनुसन्धान सुरु गर्ने बताए । ‘मैले पनि आज कर्पोरेट हाउसहरुमै पुगेर १ हजार रुपैयाँ प्रतिडोज खोप लगाइदिने गरेको सूचना पाएको छु,’ उनले भने, ‘यो गम्भीर विषय हो । हामी यसमाथि अनुसन्धान गर्दैछौं ।’
वीर अस्पतालका एक चिकित्सकले पनि कर्पोरेट हाउसमा काम गर्ने एक उच्च तहका कर्मचारीले आफूले पहिले कोभिशिल्ड पूर्ण मात्रा लगाएको र थप मात्रा (बुस्टर डोज)का रुपमा फाइजर लगाउन अवसर पाएको हुँदा लगाउन हुन्छ कि हुँदैन भनेर सल्लाह मागेको पुष्टि गरे ।
‘एक कर्पोरट हाउसका उच्च तहका व्यक्तिले मलाई फोन गरेर बुस्टर डोज फाइजर लगाउन हुन्छ कि हुँदैन भनेर सोध्नुभएको थियो,’ नाम उल्लेख नगर्ने शर्तमा ती चिकित्सकले भने, ‘पहिले कोभिशिल्ड दुवै मात्रा लगाउनु भएको रहेछ । फाइजर त सरकारले बालबालिकालाई मात्रै दिएको छ । उहाँसम्म कसरी पुग्यो म त अच्चममा परे ।’ ती चिकित्सकले पनि कर्पोरेट हाउसमा खोपको कालोबजारी भइरहेको तर्फ यो घटनाले संकेत गरेको बताए ।
काठमाडौं जिल्ला स्वास्थ्य प्रमुख काफ्लेकाअनुसार फाइजर खोप महानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मात्रै उपलब्ध गराइएको छ । यसैगरी, अन्य खोपहरुको सन्दर्भमा भने सरकारले केही निजी अस्पताललाई पनि खोप अभियान चलाउने अनुमतिसहित खोप उपलब्ध गराउँदैं आएको छ ।