२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्युजिल्याण्डको कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा नेपाली जनस्वास्थ्यविद्

न्युजिल्याण्डको कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा नेपाली जनस्वास्थ्यविद्


काठमाडौं—कोभिड–१९ नियन्त्रणमा सबैभन्दा प्रभावकारी काम गर्ने देश हो—न्युजिल्याण्ड । कोभिड महामारीका कारण विश्वका शक्ति राष्ट्रहरु भयावह त्रासदीबाट ग्रुजिरहँदा न्युजिल्याण्डमा भने अहिलेसम्म १४ हजार ५ सय ७२ जनामात्रै संक्रमित भएका छन् । संसारमै न्युजिल्याण्डको कोभिड–१९ नियन्त्रण, उपचार र व्यवस्थापन निकै व्यवस्थित मानिएको छ ।

त्यही देशको कोभिड–१९ सम्बन्धि काम गर्ने उच्च तहमा एक जना नेपाली विज्ञ नियुक्त भएका छन् । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयअन्तर्गतको ‘कोभिड रेस्पोन्स टिम’को प्रिन्सिपल एडभाइजरज जस्तो उच्च तहमा नेपाली मूलका डा. रमिल अधिकारी नियुक्त भएका छन् । जनस्वास्थ्य व्यवस्थापनको अब्बल ज्ञान, जनस्वास्थ्य रणनीतिबारे जानकार र उच्च तहको अनुभव भएकालाई यो पद नियुक्त गरिन्छ ।

एक दशकअघि न्युजिल्याण्ड पुगेका डा. अधिकारी २७ डिसेम्बरमा उक्त पदमा नियुक्त भएका हुन् । ‘चिफ डाइरेक्टरले नियुक्त गर्नुभएको हो,’ हालै एक अनलाइन कुराकानीमा उनले हेल्थआवाजसँग भने, ‘म यहाँ आएको एक दशक भैसक्यो । अधिकांश समय जनस्वास्थ्यमा काम गरे ।’ उनले आफूले महामारीमा पनि प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा निभाइरहेको भूमिकाका कारण पनि आफूलाई नियुक्त गरिएको हुन सक्ने बताए ।

विदेशमा यो सफलता औलामा गन्न सकिने नेपालीलाई मात्र प्राप्त हुन्छ । ‘विदेशमा आएर यस्तो महामारीको परिस्थितीमा यहाँ पुग्ने नेपाली औला मै गन्न सकिन्छ,’ उनले भने, ‘यो पदमा नियुक्त भएपछि पूरा गर्ने दायित्व र काम धेरै छन् । पहिलादेखि नै विभिन्न सामाजिक संस्थामा लागेको र चिकित्सक भएर पब्लिक हेल्थ र अनुसन्धानमा काम गरिरहेकाले कारण मलाई यहाँसम्म आइपुग्न धेरै सहयोग पुग्यो ।’

न्युजिल्याण्ड सरकारको उच्च तहको पद मानिने यसमा एक जना मात्रै हुने उनले जानकारी दिए । ‘यो पदमा रहेर मैले सरकारलाई मद्दत गर्ने हो । महामारीले प्रभावित पारेको अवस्थालाई हेर्ने र अब कसरी बढ्न सकिन्छ भनेर एउटा नीति बनाएर सरकारलाई दिने हो,’ डा. अधिकारीले प्रिन्सिपल एडभाइजर पदमा नियुक्त भएपछिको आफ्नो भूमिकाबारे सुनाए । उनले न्युजिल्याण्ड कोभिड–१९ महामारी नियन्त्रणबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए । ‘मुख्य कुरा त सरकारले बनाएको नियमलाई समर्थन गर्नुपर्छ,’ उनले भने, ‘लागु गरिएका नियमलाई सबैले मान्नुपर्ने देखिन्छ ।’ यसले कोभिड–१९ नियन्त्रणमा प्रमुख भूमिका खेल्नु उनले बताए ।

नेपाल सरकारको पर्यटन प्रवद्र्धन दूत समेत रहेका डा. अधिकारी पब्लिक हेल्थ एशोसिएसन न्युजिल्याण्ड वेलिङटनको अध्यक्ष तथा मेसी विश्वविद्यालयको अनुसन्धान पनि सक्रिय छन् । त्यसबाहेक उनी धेरै संघसंस्थामा आवद्ध छन् । कास्कीमा जन्मिएका डा. अधिकारीले पोखराको डायमण्ड इंग्लिस बोर्डिङ स्कुलबाट एसएलसी पास गरेका थिए । उनले अन्नपूर्ण क्याम्पस पोखराबाट आइएस्सी उत्तीर्ण गरे । उनले चीनबाट एमबीबीएस अध्ययन गरेका हुन् । उनले मेसी युनिभर्सिटीमाबाट पब्लिक हेल्थमा पोष्ट ग्राजुयसन गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. रमिल अधिकारी, #न्युजिल्याण्ड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ