काठमाडौं—दुई हप्ताअघि औषधी व्यवस्था विभागबाट राष्ट्रिय औषधी प्रयोगशालामा सरुवा भएका विभागका महानिर्देशक नारायण ढकालले महानिर्देशकको कुुर्सी नछोडेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन पत्र काटेको छ । २५ पुसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री स्तरीय निर्णय गरी ढकाललाई प्रयोगशालाको निर्देशकमा सरुवा गरिएको थियो ।
आफू महानिर्देशक भएको र मातहतको प्रयोगशालामा निर्देशक भएर नजाने भन्दै अड्डी कसेका ढकाललाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुनका लागि मंगलबार पत्र पठाइएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकालले महानिर्देशक ढकालले प्रयोगशाला जान नमानेका कारण मन्त्रालय तानिएको बताए ।
‘उहाँ प्रयोगशाला जान मान्नुभएन । नयाँ महानिर्देशक जाँदा कुर्सी पनि छोड्नु भएन्,’ उनले भने, ‘विभागमा काम लथालिंग भएपछि २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको छ ।’ विभागस्रोतकाअनुसार बुधबार विहानै ढकाललाई मन्त्रालयमा हाजिर हुन पठाइएको पत्र आइसकेको छ । तर, ढकाल भने सो निर्णय पनि आफूलाई मान्य नभएको भन्दैं पत्र बुझ्न आनाकानी गरिरहेको स्रोतको दावी छ ।
सरुवा भएको दुई हप्तासम्म पनि ढकाल कुर्सीमा टाँसिरहनुको कारण उनले कानुन विपरित यसअघि विभागमा गरेका निर्णयहरु रहेको विभाग स्रोतको दावी छ । अघिल्लो कार्यकालमा ढकालले झण्डै २२ सय औषधीको कानुन विपरित मुल्यवृद्धि गरिदिएका छन् । जसमध्ये ५१ वटा बढाइएका औषधीको अवैद्य मुल्यवृद्धि गरेको तथ्यांक हेल्थआवाजले सार्वजनिक गरेको थियो ।
अन्य २१ सयभन्दा बढी औषधीको मुल्यवृद्धि गरेको तथ्यांक हेल्थआवाजले सूचनाको हकअन्तर्गत माग गर्दा पनि ढकालले उपलब्ध गराउन अस्वीकार गर्दै आएका छन् । तर, अवैध रुपमा मुल्यवृद्धि गरेको औषधीको फाइल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने लगिसकेका छन् । जुन विषयमा अख्तियारले छानविन प्रक्रिया सुरु गरिसकेको छ भने मन्त्रालय ढकाललाई सरुवामात्रै गरेर छुट दिन लागेको देखिन्छ ।
ढकालले तत्काल महानिर्देशकको कुर्सी नछोड्नुको अर्को कारण केही विदेशी कम्पनीहरुको डब्लुएचओ जिएमपी नवीकरण गर्ने लालच पनि हो ।