काठमाडौँ – नेपाल औषधी लिमिटेडले हिमाली र पहाडी जिल्लामा समेत सिटामोल औषधीको अभाव हुन नदिने गरी कार्ययोजना अघि बढाएको बताएको छ। बजारमा सिटामोल अभाव भएको गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाउदै लिमिटेडले पहुँच नभएका हिमाली-पहाडी जिल्लामा समेत सिटामोल अभाव हुन नदिने गरी कार्ययोजना अघि बढाएको बताएको हो।
लिमिटेडले बुधबार विज्ञप्ति जारी गर्दै भन्यो, ‘सजिलै पहुँच बाहिर रहेका देशका विकट तथा दुर्गम हिमाली तथा पहाडी जिल्लाहरुमा समेत नेपाल औषधी लिमिटेडका उत्पादनहरु सिटामोल, स्यानीटाइजर, जीवनजलको अभाव हुन नदिने गरी कार्ययोजना अघि बढाइरहेको छौँ।’
ओमिक्रोन फैलिएको ६/७ दिन पछि नै पूर्ण क्षमतामा रातदिन लगाएर उत्पादन गरी सिटामोल विभिन्न अस्पताल, उपत्यकाभित्रका लिमिटेडका सटकिष्टहरुमा उपलब्ध गराइसकेको र उपत्यकाबाहिर पनि उपलब्ध गराउनेक्रम जारी रहेको लिमिटेडले जनाएको छ।
साथै, लिमिटेडले विग्रेता, वितरकलाई अनावश्यक संचयलाई निरुत्साहित गरी सहयोग गर्न पनि अनुरोध गरेको छ।
