२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्ती प्रतिष्ठानको उपकुपतिका तीन जनाको नाम सिफारिस गर्ने तयारी, को होला भिसी ?

राप्ती प्रतिष्ठानको उपकुपतिका तीन जनाको नाम सिफारिस गर्ने तयारी, को होला भिसी ?


काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिले आवेदक १६ जनाबाट तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा संयोजकत्वको सिफारिस समितिको बैठकले सर्टलिष्टमा परेका पाँच जनाबाट तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

बुधबार छनोट गरेका तीन वटा नामलाई नै शुक्रबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गर्ने तयारी रहेको छ । स्रोतकाअनुसार सिफारिस समितिले नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष प्रा.डा. नारायणविक्रम थापा, गंगालाल हृदयरोग केन्द्रका प्रा.डा. रामेश कोइराला र मणिपालका प्रा.डा. प्रदिप घिमिरे शर्माको नाम सिफारिस गर्ने गरी तयारी अगाडि बढाएको छ ।

‘बुधबारको बैठकले डा. थापा, डा. कोइराला र डा. घिमिरेको नाम पठाउने सैद्धान्तिक सहमति गरिसकेको छ,’ स्रोतले भन्यो, ‘अन्तिम समयमा कुनै बदलाव आएन भने भोलिसम्म यिनै तीन नाम कुलपतिलाई सिफारिस हुनेछन् ।’

त्यसअघि आवेदक १६ जनाबाट छनोट समितिले पाँच जनामा नेपाल सर्टलिष्ट गरेको थियो । जसमा मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष प्रा.डा. थापा, मणिपाल मेडिकल कलेजका प्रा.डा. घिमिरे शर्मा, शहीद गंगालाल हृदयरोग केन्द्रका प्रा.डा. कोइराला, न्याम्सका प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा. विकास लामिछाने रहेका थिए ।

सिफारिस भएका तीन नामबाट एक जनालाई प्रधानमन्त्रीले प्रतिष्ठानको उपकुलपति नियुक्त गर्नेछन् । स्वास्थ्य मन्त्री नेतृत्वको उपकुलपति सिफारिस समितिमा स्वास्थ्य सचिव डा। रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। भगवान कोइराला सदस्य रहेका छन् ।

को होला भिसी ?

यदि छनोट समितिको बुधबार बसेको बैठकको सैद्धान्तिक सहमतिअनुसार डा. थापा, डा. कोइराला र डा. घिमिरे शर्मा नै सिफारिस भएमा कुलपतिसमेतका रहेका प्रधानमन्त्री देउवालाई उपकुलपति छान्न निकै नै सकस पर्नेछ । पहिलो सकस तीनै जना चिकित्सक लोकतान्त्रिक धारका भएको हुँदा तीनै जनाको नाममा पार्टीको फरक—फरक आन्तरिक च्यानलबाट दबाब पर्नेछ ।

त्यसबाहेक तीनै जना पार्टीगत पहुँचमा उत्तिकै प्रभावशाली रहेका कारण टक्कर झन पेचिलो बन्ने निश्चित छ । डा. थापा यसअघि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनको कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालासँग राम्रो सम्बन्ध छ । त्यसबाहेक महामन्त्री गगन थापा पनि उनी निकट छन् । तर, उनीभन्दा निकट डा. कोइराला पनि प्रतिस्पर्धी भएको हुँदा गगनको भूमिका स्पष्ट छैन । साथै, उनलाई नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको पनि सहयोग रहनेछ ।

डा. कोइराला कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका गृहजिल्लाका भएका कारण शर्माको लबिइङ पनि उनका लागि हुने देखिन्छ । बाहिरी रुपमा गगनले डा. कोइरालाका लागि लबिइङ नगरेतापनि भित्री वातावरण मिलाउन भने सक्छन् ।

पोखरामा बसेर लामो समय प्राध्यापनमा गरेका डा. घिमिरे पनि नेपाली कांग्रेस निकट नै हुन् । उनको सिधा सम्पर्क प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवासँग रहेको जानकारहरु बताउँछन् । स्वास्थ्यका धेरै नियुक्तिहरुमा डा. आरजुको भूमिका प्रमुख रहने भएकाले डा. घिमिरे पनि उपकुलपतिका प्रमुख दाबेदार हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ