काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले कुष्ठरोग निर्मुल पार्न सबैजना एकजुट भएर लाग्नुपर्ने बताएका छन्। विश्व कुष्ठरोग दिवसको सन्दर्भमा स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री खापुङले कुष्ठरोग निर्मुल पार्न सम्बन्धित स्वास्थ्यका सबै निकाय एकजुट भएर लाग्नुपर्ने बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘स्वास्थ्यको ठूलो समस्याको रुपमा कुष्ठरोग रहेको छ । खर्च गर्न नसक्नेहरु अस्पताल आएर फर्किने अवस्था नपरोस जसको लागि यस रोगको उपचार व्यवस्थापन हुनु जरुरी छ।’ पहुँच बाहिर रहेका बिरामीको लागि सहज उपचारको व्यवस्थापन गर्नुपर्ने देखिएकोले सरकारले उपचारको पहुँच वृद्धि गर्न बारे सोच्न पर्नेमा उनले जोड दिए।
यस्तै, कार्यक्रममा भिडियो सन्देशमार्फत स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकार कुष्ठरोगमुक्त देश बनाउन चुनाैतीपूर्ण रहेपनि यसको लक्ष्य प्राप्तिका लागि सरकार परेको बताएका छन्। उनले भने, ‘शुन्य कुष्ठरोग प्राप्तिका लागि नेपाल पूर्ण प्रतिबद्द छ।’ उनले कोभिड महामारीमा समेत कुष्ठरोगको औषधी आपूर्ति, विक्री वितरण देखि यसलाई निर्मुल पार्ने कार्यक्रमहरु संचालन भैरहेको जनाए।
जनवरी महिनाको ३० तारिखमा कुष्ठरोग दिवसलाई विश्वव्यापी रुपमा मनाउने चलन छ। सोहीअनूरुप नेपालमा पनि आज ‘कुष्ठरोगका लागि हाम्रो प्रतिवद्धता आत्सम्मानको लागि ऐक्यवद्धता’ भन्ने सन्देशसहित ६९ औंं कुष्ठरोग दिवस मनाइँदै छ।
विश्व स्वास्थ्य संङ्गठनले नेपाललाई सन् २०१०मा कुष्ठरोग निवारण भएको मुलुक भनेर घोषणा गरेको थियो।
के हो त कुष्ठरोग ?
कुष्ठरोग देवीदेवताको श्रापका कारण वा पूर्वजन्मको पापको फल भन्ने गरिन्थ्यो तर यो सरुवा दीर्घ रोग हो । कुष्ठरोग माइक्रो ब्याक्टेरिया लेप्रे नामक सूक्ष्म कीटाणुका कारण लाग्छ । कुष्ठरोगको उपचार नगरिएमा अंगभंगसमेत गराउन सक्छ ।
मानिसबाहेक अन्य जनावरमा नदेखिएको यो रोग मानिसबाट मानिसमा श्वासप्रश्वास र सीधा सम्पर्कको माध्यमबाट सर्छ । छाला र खास गरी हात, खुट्टा, अनुहारका स्नायूमा असर गर्छ ।