२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिपुर र नागरिक अस्पतालको ल्याबमा बन्छ १० हजारमा नक्कली पिसिआर रिपोर्ट

कान्तिपुर र नागरिक अस्पतालको ल्याबमा बन्छ १० हजारमा नक्कली पिसिआर रिपोर्ट

ल्याब सञ्चालक र रिपोर्टमा हस्ताक्षर गर्ने चिकित्सकको खोजी हुँदै


काठमाडौं—तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी अस्पतालमा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ । महानगरी अपराध महाशाखा काठमाडौंको टोलीले उक्त अस्पतालको ल्याबमा १८ माघ विहान छापा मारेर अस्पतालका कर्मचारी र विचौलिया गरी ४ जनालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो ।

अपराध महाशाखाका प्रवक्ता कृष्ण कोइरालाकाअनुसार वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको कोभिड–१९ को पिसिआर परीक्षण सरकारले तोकेकोभन्दा अत्याधिक महंगोमा गर्ने गरेको र स्वाबको नमुनासमेत नलिएर नक्कली रिपोर्ट बनाइदिने गरेको सूचनाका आधारमा उक्त अस्पतालमा ल्याबहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधीहरूको रोहवरमा महाशाखाको टोलीले छापा मारेको थियो । ती अस्पताल व्यवस्थापन, पिसिआर ल्याबका कर्मचारी र विचौलियाहरुले मिलेर विदेश जाने व्यक्तिहरुलाई नेगेटिभ रिपोर्ट बनाइदिए बापत १० हजारसम्म असुल्ने गर्ने गरेको पाइएको उनले बताए ।

प्रहरीले नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका कर्मचारी २५ वर्षीय रोशन कुमार छिट्टानलाई ८ थान नक्कली पिसिआर रिपोर्टसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पक्राउ गरेको थियो । त्यसपछि टोलीले अस्पतालका ल्याबका प्रबन्धक २४ वर्षीय प्रसन्नकुमार झालाई अस्पतालबाटै पक्राउ गरेको थियो ।

यस्तै, काठमाडौं तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारी २५ वर्षीय नागेन्द्रकुमार यादवलाई १७ थान नक्कली पिसिआर रिपोर्टसहित अस्पताल अगाडिबाटै पक्राउ गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । नागेन्द्रलाई पक्राउ गरेपछि प्रहरीले कान्तिपुर अस्पतालको ल्याबमा समेत छापा मारेको थियो । त्यसक्रममा प्रहरीले ल्याबका कर्मचारी २९ वर्षीय माधव मैनालीलाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधीहरुको रोहवरमा उक्त दुवै अस्पतालबाट नक्कली पिसिआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटर, पिसिआर दर्ता रजिष्ट्रर समेत बरामद गरेको छ । साथै, दुवै अस्पतालका ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी एवं उक्त अस्पतालका ल्याबबाट बनेका नक्कली रिपोर्टमा हस्ताक्षर गर्ने चिकित्सकहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । कान्तिपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको ल्याब समेत प्रहरीले सिल गरेर सबै सेवा बन्द गरी थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रहरी अनुसन्धानबाट अस्पतालका ल्याबहरुले स्वाब र परीक्षण बिनै नेगेटिभ रिपोर्ट दिएको, ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले नै रिपोर्ट नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गर्न दिने गरेको, केही पिसिआर पोजेटिभ भएका स्पाम्पलहरुमा सिटी भ्यालु तलमाथि पारेर नेगेटिभ रिपोर्ट दिने गरेको खुलेको छ । यस्तै, ती अस्पतालहरुले केही विचौलियालाई अस्पतालको कर्मचारी परिचयपत्र समेत दिएर सामूहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको, ती विचौलियाहरुले सम्बन्धित व्यक्तिको उपस्थिती र स्वाब बिनै आफैले आफ्नै स्वाब संकलन गरी विभिन्न व्यक्तिका नाममा दिने र नक्कली रिपोर्ट उपलब्ध गराउने गरेको प्रवक्ता कोइरालाले जानकारी दिए । उनकाअनुसार ती ल्याबहरुले क्युआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी सक्कलीजस्तै गरेर रिपोर्ट बनाउने गरेको पाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ