२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१३ नर्स र ११६ चिकित्सकसहित ३९८ को दरबन्दी थप्ने प्रस्ताव

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१३ नर्स र ११६ चिकित्सकसहित ३९८ को दरबन्दी थप्ने प्रस्ताव

नयाँ दरबन्दी थपको प्रस्ताव एक वर्षदेखि स्वास्थ्य मन्त्रालयमा अलपत्र


काठमाडौं—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २ सय १३ नर्स, १ सय १६ जना चिकित्सकसहित ३९८ दरबन्दी थप्ने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको छ । प्रतिष्ठानले अध्ययन—अध्यापनसँगै मातहतको प्रतिष्ठान अस्पतालको विशिष्टीकृत सेवाहरु विस्तार गर्न आवश्यक दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रालयलाई पठाएको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्रीले प्रतिष्ठान सेवा विस्तार र अध्ययन—अनुसन्धानको गर्नका लागि विद्यमान जनशक्ति अपुग रहेको हुँदा दरबन्दी थपको प्रस्ताव मन्त्रालयमा पठाइएको बताए । ‘गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पतालसहितको प्रतिष्ठान यही हो । थप सेवासुविधा र अध्ययन, अध्यापन र अनुसन्धानका लागि अहिलेको जनशक्ति अपर्याप्त छ,’ उनले भने, ‘नयाँ संगठन संरचना अध्ययन गरी एक वर्षअघि नै प्रस्ताव मन्त्रालयमा पठाएका छौं ।’

३ सय ९८ थप गर्न प्रस्ताव गरिएका दरबन्दीमध्ये ११ औं तहमा १८ दरबन्दी रहेका छन् । जसमा विभिन्न विद्याका प्रमुख कन्सल्ट्यान्ट चिकित्सक र प्रमुख नर्सिङ प्रशासक एक जना रहेका छन् । यस्तै, ९ औं र १० औं विभिन्न विद्याका कन्सल्ट्यान्ट चिकित्सक तहमा २ जना बरिष्ठ नर्सिङसहित ४७ जनाको दरबन्दी थप गर्न प्रस्ताव गरिएको छ ।

यस्तै, उपसचिव प्रशासन १ जना, लेखा अधिकृत १, शाखा अधिकृत १ को दरबन्दी थप गर्न प्रस्ताव गरिएको छ । मेडिकल अधिकृत ५७ जना, डेन्टल सर्जन १ जना, कानुन अधिकृत १ जना, सिभिल इन्जिनियर १ जना, बायोमेडिकल इन्जिनियर १ जना, सूचना प्रविधी इन्जिनियर १ जना दरबन्दी थप गर्न प्रस्ताव गरिएको प्रतिष्ठान अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

प्रतिष्ठानले ल्याब टेक्नीसियन २ जना, मेडिकल रेकर्ड अधिकृत १ जना, नर्सिङ अधिकृत १० जना, रेडियोग्राफर २ जना, डाइटिसियन १ जना, नायब सुब्बा १ जना, लाइबेरियन २ जना, मेडिकल रेकर्ड सुपरभाइजर २ जना, हेल्थ असिस्टेन्ट ४ जना, डेन्टल हाइजिन ३ जना, अडियो मेट्रिसियन १ जना, स्पेश थेरापी अस्सिटेन्ट २ जना, एनेस्थेसिया सहायक ५ जना, फार्मेसी सहायक ९ जना, फिजियो थेरापी सहायक १ जना, ल्याब टेक्नीसियन ४ जना र रेडियोग्राफर ६ जना थप्ने प्रस्ताव गरेको छ ।

सबैभन्दा बढी २०० जना स्टाफ नर्सको दरबन्दी थप्न प्रतिष्ठानको नयाँ ओएनएममा प्रस्ताव गरिएको छ । यसैगरी, बायोमेडिकल टेक्नीसियन १ जना, इसिजी टेक्नीसियन २ जना, सब इन्जिनियर ३ जना, खरिदार १ जना, डाइलाइसिस टेक्नीसियन २ जना, पलम्बर १ जनाको दरबन्दी थप गर्ने प्रस्ताव प्रतिष्ठानको छ । अहिले प्रतिष्ठानमा मौजुदा दरबन्दी ३ सय १ जना दरबन्दी रहेको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. खत्रीकाअनुसार नयाँ विशिष्टीकृत सेवाहरु ग्यास्ट्रोलोजी, नेफ्रोलोजी, कार्डियोलोजी सेवाहरु सञ्चालन ल्याइएका छन् भने ती लगायतका सेवाहरुलाई निरन्तरता दिनका लागि थप दरबन्दी आवश्यक छ । ‘२ सय बेडको प्रसुती भवन थपिएसँगै अस्पतालको क्षमता ५ सय बेड पुग्ने हुँदा थप जनशक्ति आवश्यक छ,’ डा. खत्रीले भने ।

प्रतिष्ठान अस्पताल गण्डकी प्रदेशको संघीय अस्पताल पनि हो । स्वास्थ्य सेवासँगै अध्ययन अध्यापन गराउने प्रतिष्ठानसमेत भएको हुँदा जनशक्ति थप आवश्यक रहेको उनले बताए । कोभिड—१९ अघि औसतमा दैनिक १ हजार ८ सय बिरामी ओपीडी आउने गरेको तथ्यांक अस्पतालको छ । कोभिड—१९ सुरु भएसँगै दैनिक १२ देखि १४ सयको हाराहारीमा नन कोभिड बिरामीको अस्पतालमा उपचार हुने गरेको छ । जसको ६० देखि ७० प्रतिशत भर्ना भएर उपचार गर्नुपर्ने बिरामीहरु छन् ।

प्रतिष्ठानमा प्रस्ताव गरिएको थप दरबन्दी स्वीकृत भएमा २४ करोड ८४ लाख ६५ हजार २ सय ९२ रुपैयाँ मासिक आर्थिक व्यवभार थपिने अनुमान गरिएको छ ।

एक वर्षअघि नै मन्त्रालयमा पेश भएको प्रतिष्ठानको दरबन्दी थप सम्बन्धि प्रस्तावको मस्यौदा मन्त्रालयमा थन्किएको छ । मन्त्रालय स्रोतकाअनुसार प्रशासन महाशाखाले यो विषय अझै अगाडि बढाएको छैन । ‘कुनै पनि संस्थाको नयाँ ओएनएम सम्बन्धित मन्त्रालयले स्वीकृत गरेर सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय र लोकसेवा आयोगले सैद्धान्तिक सहमति दिएपछि क्याबिनेटबाट पास हुने व्यवस्था छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओएनएम प्रस्ताव आएको एक वर्ष भयो । तर, यसमा छलफल भएको छैन ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ