भारतले कोभिड–१९ विरुद्धको लडाइमा अर्को नयाँ ‘हतियार’ पाएको छ । भारतमा यसको उपचारका लागि नाक स्प्रे लन्च गरिएको छ ।
नाकमा यो औषधी स्प्रे गरेपछि ४८ घण्टाभित्र कोभिड नाश हुने दाबी गरिएको छ । नाइट्रिक अक्साइड भएको यो औषधी प्रयोग गरेपछि २४ घण्टामा भाइरल लोडमा ९४ प्रतिशतको कमी र ४८ घण्टामा ९९ प्रतिशत कमी आएको दावी गरिएको हो ।
‘ग्लेनमार्क फार्मास्युटिकल्स’ले क्यानेडियन बायोटेक कम्पनी ‘सानोटाइज रिसर्च’सँग मिलेर सो स्प्रे तयार पारेको हो । ग्लेनमार्क फार्मास्युटिकल्सले बुधबार कोभिड-संक्रमित वयस्कहरूको उपचारका लागि नाइट्रिक अक्साइड नाक स्प्रे (नाकबाट लिने औषधि) लन्च गरेको हो ।
उक्त स्प्रे वयस्कहरूका लागि हो जो संक्रमित भएमा गम्भीर रूपमा बिरामी हुने उच्च जोखिममा छन्। भारतमा यो औषधी ‘फेबिस्प्रे’ नामबाट बजारमा ल्याएको छ । भारतमा फेबिस्प्रेको मूल्य रु ८५० हुने बताइएको छ।
एक बिरामीलाई एक बोतल पर्याप्त हुने बताइएको छ । डाक्टरले यो औषधी प्रिस्क्राइब गर्नेछन्, त्यसपछि मात्रै बजारबाट किन्न सकिन्छ । अहिले यो औषधी सिधै केमिस्टबाट किन्न पाइदैन।
यसअघि मुम्बईको ग्लेनमार्क कम्पनीले नाइट्रिक अक्साइड नाक स्प्रेको उत्पादन र बिक्रीका लागि ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डिसिजजीआइ) को स्वीकृति प्राप्त गरेको थियो।
कम्पनीको अनुसार फेविस्प्रे नाकभित्र कोभिड-१९ को भाइरस नष्ट गर्न डिजाइन गरिएको छ ताकि यो फोक्सोमा पुग्न नसकोस् ।
–हिन्दुस्तान टाइम्सबाट