काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोभिड—१९ विरुद्धको २४ लाख खोप हराएको भन्दैं स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विरोध गरिरहेको छ । मन्त्री खतिवडाले भने खोप नहराएको केही खोपको विवरण प्राप्त हुन बाँकी रहेको एवं केही खोप वेस्टेज भएको प्रष्टीकरण दिइरहेका छन् ।
आरोप—प्रत्यारोप श्रृखला चलिरहेका बेला मन्त्री खतिवडाले सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा खोप नहराएको बरु आफूले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पाँच हजार रुपैयाँ खोप किनेर लगाएको भनेर अभिव्यक्ति दिएका थिए । ‘मैले लगाएको छु पाँच हजारमा खोप,’ टेलिभिजनसँग उनले भनेका छन्, ‘सरकारले ल्याएको खोप मैले ५ हजारमा लगाएको छु ।’
स्वास्थ्यमन्त्री खतिवडाको उक्त अभिव्यक्तिपछि नेकपा एमालेका सचिव एवं स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मन्त्री खतिवडाको उक्त भनाइ झुटो र अफवाहपूर्ण भएको बताएका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै बानेश्वरको सिभिल अस्पतालमा मन्त्री खतिवडाले कोभिड—१९ विरुद्धको भ्याक्सिनको पहिलो डोज लगाएको बताएका छन् ।
‘खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ,’ भट्टराईले विज्ञप्तिमा भनेका छन्, ‘सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित छ । उनले तत्कालीन सरकारले २०७७ फागुन १९ गतेदेखि २१ गतेसम्म संघीय संसदका सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएका बेला सिभिल अस्पतालको रजिष्टर ख मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाएको उल्लेख गरेका छन् ।
भट्टराईको विज्ञप्तिमा ६२ वर्षीय खतिवडाले ब्याच नं. 4120 Z 004 को कोभिशिल्ड खोप लगाएको उल्लेख छ । उनले पूर्ववर्ती सरकारलाई बदनाम गर्न खतिवडाले गतल सूचना दिएको समेत आरोप लगाएका छन् । एमालेले स्वास्थ्य मन्त्री खतिवडाको गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदैं मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएको छ ।

