काठमाडौं—श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ । शुक्रबार सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले श्रमिक अस्पताल स्थापनाका लागि श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेको जानकारी दिए ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै उनले यस्तो जानकारी दिएका हुन्र । श्रमलाई श्रमिक अस्पताल स्थापना गर्ने सैद्धान्तिक स्वीकृत प्रदान गरेसँगै श्रमिक अस्पताल स्थापनाको बाटो खुलेको हो । श्रमले श्रमिक अस्पताल स्थापनाका लागि क्याबिनेटमा प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषद् बैठकले कोभिड-१९ विरुद्धको आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाका लागि १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड) ऋण सहायता स्वीकार्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
सरकारले औषधि दर्ता (चौथो संशोधन) नियमावली, २०७८ स्वीकृत गरेको छ भने नेपाल मेडिकल काउन्सिल (पाँचौ संशोधन) नियमावली, २०५८ लाई पनि स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले ग्लोबल फण्डको एड्स, क्षयरोग, मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि सन् २०२१-२४ को कार्यक्रम कार्यन्वयनका लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई अख्तियारी प्रदानसमेत गरेको छ ।