२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनगरपालिकाको मेयरमा चुनाव लड्दैं नर्स, को हुन् ३० वर्षीया नर्स नितु ?

नगरपालिकाको मेयरमा चुनाव लड्दैं नर्स, को हुन् ३० वर्षीया नर्स नितु ?


३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको सुरसार सुरु भइसकेको छ । यस पटक केही युवाहरु पनि स्थानीय सरकार हाँक्ने योजनाका साथ चुनावी मैदानमा ओर्लिदैछन् । त्यसका लागि युवाहरुले पार्टीको छाताभन्दा पर रहेर स्वतन्त्र उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् । त्यसैमध्येकी एक हुन्—३० वर्षीया नर्स नितु खड्का । नितुले ‘परिवर्तन सम्भव छ…’ भन्ने नाराका साथ बाग्लुङ नगरपालिका मेयरमा चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । बाग्लुङ नगरपालिका जिल्लाको सदरमुकाम समेत हो ।

अझ रोचक त के भने अस्पतालमा बिरामीको सेवामा व्यस्त रहने नर्स पृष्ठभूमीकी उनी नगरपालिकाको राजनीतिक नेतृत्व लिन तम्सिएकी छन् । ‘म स्वतन्त्रबाट मेयरमा उठ्नु भनेको राजनीतिमा क्रान्ति हो,’ हालैको एक साँझ हेल्थआवाजसँग नितुले भनिन्, ‘युवाले चाहे परिवर्तन सम्भव छ । यो एउटा क्रान्ति हो ।’ आफ्नो ठाउँको विकास गर्नका लागि आफू अघि नसरेर नहुने अनुभव गरेका कारण मेयरमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको उनको भनाइ थियो । ‘पार्टी ठूलो बनाउनलाई होइन्, स्थानीय तह भनेकै त्यो ठाउँको विकास गर्नका लागि हो,’ उनले कारण खोलिन्, ‘म स्वतन्त्र भएर जाँदा मैले विकास बढी गर्न सक्छु । त्यहाँ राजनीतिकरण हुँदैन ।’ उनले विकास चाहिएको हो भने स्वतन्त्र रुपमा काम गर्न चाहने युवाहरुलाई मत दिनुपर्नेमा जोड दिइन् ।

वर्षौदेखि समाजमा जरा गाडेका राजनीतिक दलका उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्न स्वभाविक रुपमा गाह्रो परेपनि विकास चाहिएका स्थानीयले परिवर्तन रोज्ने विश्वास उनको छ । ‘अलिकति गाह्रो होला । तर, परिवर्तन सम्भव छ,’ उनी दृढ देखिइन् । आधा दर्जन बढी देशको भ्रमण गरिसकेकी उनलाई न्युजिल्याण्डको एक नगरपालिकाका मेयरले विकास मोडल बनाउन सहयोग गर्ने बचन दिएका छन् ।

नितुले निर्वाचनका लागि भनेर राजनीतिक पार्टीकाजस्ता स्वीटजरल्याण्ड बनाउन सपना देखाइएका योजना नबनाउने बताइन् । ‘म बाग्लुङको त्यहीबाट उठेको हो । म अहिले नै योजना सुनाउन सक्दिन्,’ उनले भनिन्, ‘किनभने, भाषण गरेजस्तो काम गर्न हुँदैन् ।’ तर, उनले गर्ने कामबारे वस्तुवादी योजना बनाउन उनको छुट्टै टिमले काम गरिरहेको छ । ‘१४ वटा वडामा जान्छु । त्यहाँको आवश्यकता जनमानसबाटै बुझेर काम गर्छु,’ उनले भनिन् ।

को हुन् नितु ?

तस्विरः नवराज वाग्ले/हेल्थआवाज

बाग्लुङ नगरपालिकाको रामरेखा गाउँमा जन्मिएकी नितुका बुवा कृष्णबहादुर खड्का रिटायर्ड लाहुरे हुन् । आमा रजमती घरायसी कार्यमा संलग्न छन् । कृष्ण र रजमतीका एक छोरी र दुई छोरामध्ये नितु जेठी हुन् । उनका दुई भाइ अमेरिका छन् ।

नितुमा सानैदेखि समाजसेवाप्रतिको रुचि थियो । स्पष्ट कुरा राख्न सक्ने, कन्फिडेन्ट व्यक्तित्व भएकी उनको प्रारम्भिक शिक्षादीक्षा बाग्लुङमै भएको हो । उनले अमृत आदर्श बोर्डिङ स्कुलबाट वि.सं. २०६३ सालमा एसएलसी उत्तीर्ण गरेकी हुन् । एसएलसीपछि युरोप जाने योजनाका साथ काठमाडौं आएकी उनले दुई वर्ष तयारी गरिन् । त्यहीबेला उनलाई एपेन्डिसाइटिस भएपछि काठमाडौंको एभरेष्ट अस्पतालमा भर्ना गरियो ।

उनका बुवा कृष्णबहादुर नितुको सेवामा खटिएका नर्सहरुलाई देखेपछि प्रभावित भए । र, भन्दै थिए, ‘मेरी छोरी पनि तपाईहरुजस्तै नर्स बनेको हेर्न मन छ ।’ त्यो कुराले नितुको मन नर्सिङतिर मोडिए । त्यसबाहेक नर्सिङ पेसा सामाजिक पेसा भएकाले पनि उनलाई आकर्षित गरेको हो । निको भएपछि उनी विदेश जाने सपना त्यागेर गुणराज पाठक नर्सिङ कलेजमा पिसिएलमा भर्ना भइन् । सन् २०१५ मा उनले पिसिएल नर्सिङ उत्तीर्ण गरेपछि एक वर्ष डाइलाइसिस सेन्टरमा काम गरिन् । त्यहाँ काम गर्दा उनले मिर्गौला फेल भएर डाइलाइसिस गराइरहेकाहरुको पीडा सजीव रुपमा अनुभूत गरिन् । ‘कति दिन त म उहाँहरुको पीडा देखेपछि लुकेर रोएकी छु,’ उनले सम्झिइन् ।

त्यहीबेला नितुलाई लाग्यो—मिर्गौला एकै पटक त फेल हुने होइन् । हामीले के कारणले मिर्गौला बिग्रन्छ त्यसमा सचेतना जगाउन पाए धेरै मान्छेले यति पीडा झेल्नुपर्ने थिएन । यो कुरा उनको मनमा निकै गडेको थियो । एक वर्ष काम गरेपछि उनी होप इन्टरनेशल कलेजमा बिएनका लागि भर्ना भइन् । सन् २०२० मा बीएन सकिन् ।

यो अवधिमा उनले वेलनेस टिम भन्ने संगठनमा काम समेत काम गरिन् । यसले स्वास्थ्य सचेतनामा काम गर्छ । ‘त्यसमा प्रारम्भिक स्वास्थ्यलाई फोकस गरेको छ,’ उनले भनिन् । केही समयमा उनी वेलनेस टिमको अध्यक्ष चयन भइन् । वेलनेस टिममा विभिन्न पेशाका ५० बढीको समूह छ । वेलनेस टिममा काम गरिरहेका बेला उनी कोभिड-१९ विरुद्धको महामारी बेलामा गाउँमा स्वयंसेवामा खटिइन् । त्यहीबेला उनले गाउँमा दुःखहरु अनुभव गर्ने अवसर पाइन् । ‘म बाग्लुङ नगरपालिकाका सबै वडामा पुगेर त्यहाँका समस्या बुझ्ने अवसर पाएकी छु,’ उनले भनिन्, ‘मेरो हजुरबुवाको पालामा सुरु भएको गलकोट जाने सड्क अझै उस्तै दुरावस्था छ ।’ त्यसपछि उनलाई लाग्यो परिवर्तन सम्भव छ, त्यसका लागि स्थानीयस्तरमै नेतृत्व लिनुपर्छ ।

तस्विरः नवराज वाग्ले/हेल्थआवाज

यसबाहेक नितु विपीडल्यू नेपालमा सक्रिय छन् । यसमा रहँदा उनले युवा नेतृत्व र महिला सशक्तिकरणबारे ज्ञान हासिल गर्ने अवसर पाइन् । उनी यसका विभिन्न सम्मेलनहरुमा पनि सहभागी भइरहेकी हुन्छिन् । ‘१ सय १० वटा देशमा संस्था छ,’ उनले भनिन्, ‘नेपालबाट मेडिकल सेक्टरको प्रतिनिधि भएर गएर तालिम लिइरहेकी छन् ।’ त्यहाँ सिकेको सिप उनी स्वेदशमा आएर तालिम दिने र प्रत्येकको घर गएर ज्ञान काम गर्छिन् ।’ उनका त्यसमा स्वास्थ्यमा के–के परिवर्तन गर्नुपर्ने रहेछ भन्नेबारे सिक्ने र सिकाउने गरिन्छ ।

आखिर उनको उम्मेदवारी किन त ? ‘मलाई सानैदेखि समाजसेवा गर्न मनलाग्ने भएकोले समाजमा भएको अभाव, त्यसमा गर्नुपर्ने परिवर्तनबारे पहिलेदेखि नै सचेत थिए,’ नितु भन्छिन्, ‘झनै यो पेसामा आएपछि धेरै सहज भयो, नागरिकको सामु पुगेर कम गर्न पाए ।’ उनले स्वतन्त्र उम्मेदवार बन्नकै लागि एकीकृत समाजवादी महिला फाँटको जिल्ला नेतृत्व पनि त्यागेकी छन् । नितु आफू स्थानीय निर्वाचनको प्रतिस्पर्धाबाट पछि नहट्ने बताउँछिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ