काठमाडौं—सरकारले दिगो विकास लक्ष्यमा तोकिएका स्वास्थ्यका उद्देश्य पूरा गर्नका लागि २०२२—०३० रणनीति तयार गर्ने भएको छ । उक्त रणनीति तयार गर्नका लागि सुझाव संकलनका लागि आव्हान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो रणनीति तयार गर्नका लागि ५ वटा मुख्य उद्देश्य तय गरेको छ । जसमा संघीय संरचनाअनुसार सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जवाफदेही बनाउने, गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक र सहज पहुँच सुनिश्चित गर्ने, जनसंख्या, बसाइ सराइ र बढ्दो सहरीकरणको व्यवस्थापन गर्नेछ ।
यसैगरी, स्वास्थ्यका बृहत निर्धारकहरुलाई सम्बोधन गर्ने, स्वास्थ्य सेवाको उपभोग गर्दा नागरिकमा पर्ने वित्तिय जोखिम कम गर्नेछ । यी उद्देश्य प्राप्ति भएमा प्रत्येक नागरिकको स्वास्थ्य अवस्था सुधार हुने लक्ष्य राखिएको छ ।
रणनीति बनाउँदा सबै क्षेत्रलाई समेटेर सबै उत्तरदायी हुने किसिमले बनाइने मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए । ‘यो रणनीति बनाउँदा स्टेक होल्डर सबैसँग छलफल गर्छौ,’ उनले भने, ‘सबैको भावना समेट्नका लागि सार्वजनिक रुपमै सूचना आव्हान भएको छ ।’
डा. पौडेलकाअनुसार यस पटकको रणनीति संघीयता र जनसंख्यालाई पनि विशेष महत्व दिएर तय हुनेछ ।