२०८१ चैत्र ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६४ जिल्ला हात्तीपाइले रोगको जोखिममा, शनिबारदेखि १० जिल्लामा औषधी खुवाउने

६४ जिल्ला हात्तीपाइले रोगको जोखिममा, शनिबारदेखि १० जिल्लामा औषधी खुवाउने


काठमाडौँ – हात्तीपाइले रोगको जोखिममा ६४ वटा जिल्ला रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डा. चुमनलाल दासले सोमबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।

नेपालमा हात्तीपाइले रोगको अवस्था बारे व्याख्या गर्दै उनले भने, ‘सन् २००१को प्रिभिलेन्स अनुसार २. ६ करोड जनसख्या  हात्तिपाइले रोगको जोखिममा देखिएको छ । २०२०मा प्राप्त तथ्यांकअनुसार रसुवा पनि जोखिममा परेको पाइएको छ।’

उनका अनुसार २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने सरकारको योजना छ। सो रोगको जोखिम कम गर्न वर्षको १ पटकका दरले आम औषधी सेवन अभियान संचालन गर्ने र रोग सर्ने प्रक्रिया बारे सचेतना जगाउने र रोगीहरुको व्यवस्थापन र अंगभग हुनबाट रोक्ने रणनीतिहरु सरकारले तयार पारेको उनको भनाइ छ।

यस्तै, निर्देशक डा.  दासले शनिबारदेखि  हात्तीपाइले औषधी खुवाउने १४ दिने कार्यक्रम चलाउने जानकारी दिए। देशभरका १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

पछिल्लो तथ्यांक अनुसार हालसम्म हात्तीपाइलेबाट संक्रमितको संख्या १२ करोड र अंगभग भएका ४ करोड मानिस छन्  ।

यस रोग बारे सही सूचना सम्प्रेषण गर्न र आम औषधी सेवन बारे जानकारी दिन संचारमाध्यमहरुलाई निर्देशक डा.  दासले अनुरोध गरेका छन् ।

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशियाका ११ देश मध्ये बंगालदेश, नेपाल, भारत, म्यानमार, थाइल्याण्ड, श्रीलंका, माल्दिभ्स, इन्डोनेशिया र टिमवर-लेस्टे गरी ९ देशमा उक्त रोगको जोखिम देखिएको छ । ५ वर्षसम्म लगातार हात्तीपाइलेको औषधी खाए समुदायमा यसको संक्रमण कम हुने विश्व स्वास्थ्य संगठनको सुझाव छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ