काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समिति सचिवालयले स्वास्थ्य सेवातर्फको १२ औं तहको प्रमुख विशेषज्ञको रिक्त पदमा बढुवाका लागि आवेदन माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गर्दै बढुवा समिति सचिवालयले रिक्त १ प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि आवेदन माग गरेको हो ।
बढुवा समितिको २ चैतको निर्णयअनुसार रिक्त रहेको प्रमुख विशेषज्ञ पदमा कार्यक्षमताका आधारमा बढुवाका लागि आवेदन माग गरिएको हो । उक्त पदमा बढुवाका लागि आवेदन दिन २०७८ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६ (१) बमोजिम सेवा अवधि पूरा भएका ११ औं तहका अधिकृत कर्मचारीहरुले आवेदन दिन सक्नेछन् ।
१५ दिनभित्र आवेदन दिनुपर्नेछ । परेका आवेदनबाट सचिवालयले योग्यका नामहरु बढुवाका लागि सिफारिस गर्नेछ ।
स्वास्थ्य मन्त्रालयमा चार वटा प्रमुख विशेषज्ञको दरबन्दी रहेको छ । जसमा अहिले तीन जना डा. दीपेन्द्ररमण सिंह स्वास्थ्य सेवा विभाग, डा. गुणराज लोहनी नीति, योजना तथा अनुगमन र गुणस्तरण महाशाखा र डा. श्यामसुन्दर यादव जनसंख्या व्यवस्थापन तथा समन्वय महाशाखामा छन् ।
स्वास्थ्यअन्तर्गतको एक प्रमुख विशेषज्ञको दरबन्दी डा. भीमसिंह तिंकरीले अवकास पाएसँगै खाली छ ।
