२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ वर्षभित्रमा क्षयराेगको अन्त्य गर्छौं : स्वास्थ्यमन्त्री खतिवडा

५ वर्षभित्रमा क्षयराेगको अन्त्य गर्छौं : स्वास्थ्यमन्त्री खतिवडा


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अबको ५ वर्षभित्र नेपालमा क्षयरोगको अन्त्य गर्ने बताएका छन्। विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले क्षयरोग नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको हुँदा ५ वर्षभित्रमा क्षयरोगको अन्त्य भैसक्ने बताए ।

स्वास्थ्यमन्त्री खतिवडाले सरकारले क्षयरोगको उपचार र परीक्षण नि:शुल्क गरे पनि क्षयरोगका  बिरामी हराउनु क्षयरोगमुक्त अभियानका लागि ठूलो चुनौती रहेको बताए । ‘क्षयरोगका आधा बिरामी हराएका छन्। ती बिरामी नभेटिनु चुनौतीपूर्ण कुरा हो। बहुपक्षीय सहभागिताले मात्र क्षयराेग मुक्त गर्न सकिन्छ,’ उनले भने।

५ वर्षभित्र क्षयरोग मुक्त बनाउने अभियान सुरु भैसकेको र ७७ जिल्लामा नै क्षयराेग कार्यक्रम संचालनमा रहेको मन्त्री खतिवडाले जानकारी दिए  ।

क्षयरोगका बिरामी अनुमान गरेभन्दा बढी देखिएको स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले बताए। क्षयरोग मुक्त पार्न सरकारले नियन्त्रणकाे लागि महत्व दिएर अभियान संचालन गरेको बताउदै उनले सबै स्थानीय तहलाई सरकारले संचालन गरेकाे अभियानलाई सहयाेग गर्न आह्वान गरेका छन् ।

उपचार गरे निको हुने क्षयरोगबारे सचेतना नहुनु सबैभन्दा ठूलो चुनाैती रहेको उनको भनाइ छ। उनले भने, ‘राज्यले स्वास्थ्य क्षेत्रमा ठूलाे लगानी गरेकाे छ । तर, जनतालाई राज्यबाट के के सुविधा पाइन्छ भन्ने थाहा छैन ।’

त्यस्तै, कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा. राेशन पोखरेलले क्षयरोग नियन्त्रणमा काम राम्रो भैरहेको बताए । हराएका बिरामी खोज्न थप कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।

क्षयराेग लागेकाहरुमा समाजिक बहिस्करण ठुलो समस्याको रुपमा देखिएकाे बताउँदै स्वास्थ्य सचिव देवकुमारी गुरागाईले यसको लागि साेचेजस्ताे काम हुन सकेकाे जनाइन्। क्षयरोगबाट निम्तिने समस्या समाधानको लागि स्वास्थ्यका पूर्वाधार बढाउनुपर्नेमा उनले जोड दिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ