काठमाडौं—औषधि खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । बिहीबार अख्तियारले हुम्ला सर्केगाँड गाउँपालिका—३ का वडाध्यक्ष गजबहादुर रावतसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।
वडाध्यक्ष रावतसहित, गाउँपालिकाका स्वासथ्य संयोजक सन्तोष धामी, गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, तत्कालीन लेखापाल सुरतबहादुर रेश्मी विरुद्ध अख्तियारले विशेष अदालतमा कैद र विगो माग दावी गर्दै मुद्धा दायर गरेको हो ।
उनीहरुले गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकममा कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्दैं अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीमा अख्तियारले छानविन गरेपछि उनीहरुले नक्कली बिल भरपाई बनाएर ८ लाख हिनामिना गरेको भन्दैं उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१०) को देहाय (ङ) मा व्यवस्था भए बमोजिम ८ लाख रुपैयाँ विगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१०) मा उल्लेख भए बमोजिम अधिकतम कैद तथा खुल्न आएको विगो प्रतिवादीहरुबाट असुल उपर गर्न माग गर्दै मुद्धा दायर गरेको छ ।