२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ को समीक्षा गर्न संघीय र प्रदेशका स्वास्थ्य उच्च अधिकारीहरू चन्द्रागिरीमा

कोभिड–१९ को समीक्षा गर्न संघीय र प्रदेशका स्वास्थ्य उच्च अधिकारीहरू चन्द्रागिरीमा


काठमाडौं–कोभिड–१९ महामारीको २ वर्षे समीक्षा गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सातै प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयका राजनीतिक नेतृत्व देखि प्रशासन तथा स्वास्थ्यका उच्च अधिकारीहरु काठमाडौंको चन्द्रागिरी रिसोर्टमा भेला भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार दुई दिन चल्ने सो भेलाले कोभिड–१९ का दुई वर्षका सिकाइ, उपलब्धी र कमीका विषयमा छलफल हुनेछन् । ‘कोभिड महामारीको समयमा भएका कामको सिकाइ, उपलब्धी र ल्याक्सेसका विषयमा छलफल हुनेछ,’ मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले भने, ‘२ वर्षको सिकाइबाट फेरि यस्तै महामारी आउँदा कसरी अगाडि बढ्ने भन्ने बाटोमा पनि छलफल हुनेछ ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, प्रमुख विशेषज्ञहरु, तीन वटै विभागका महानिर्देशक, महाशाखा तथा शाखा प्रमुखहरु रहेका छन् । त्यसैगरी, ७ वटै प्रदेशबाट सम्बन्धित मन्त्रालयका सचिव, प्रदेश निर्देशनालय प्रमुख, कोभिड–१९ फोकल पर्सन र व्यवस्थापन शाखा प्रमुख रहेका छन् ।

मंगलबार र बुधबार चल्ने सो भेलामा पहिलो दिन सातै प्रदेशका अधिकारीले सम्बन्धित प्रदेशको सिकाइ तथा चुनौती र अबको कार्यदिशा प्रस्तुत गर्ने कार्यक्रम रहेको डा. अधिकारीले जानकारी दिए । त्यसैगरी, दोस्रो दिन कोभिड–१९ व्यवस्पथापन सम्बन्धी भएका कामहरुको १० वटा छुट्टा–छुट्टै विषयमा प्रस्तुती तथा छलफल हुनेछ ।

जसमा कोभिड–१९ को खोज पड्ताल, ¥यापिड रेस्पोन्स टिम, केस इन्भेष्टीगेसन, प्रवेश मार्ग, अन्तर्राष्ट्रिय यात्रा र यातायात सम्बन्धी एउटा प्रस्तुती हुनेछ । अर्को, प्रस्तुतीमा कोभिड–१९ सम्बन्धी राष्ट्रिय नीति तथा योजना र व्यवस्थापन हुने उल्लेख छ ।

त्यसैगरी, राष्ट्रियस्तरको समन्वय तथा अनुगमन, कोभिड–१९ भ्याक्सिन, अत्यावश्यक स्वास्थ्य सेवा तथा प्रणालीको व्यवस्थापन, राष्ट्रिय प्रयोगशालाजस्ता विषयमा छलफल हुनेछ । त्यसैगरी, रिक्स कम्युनिकेसन एण्ड कम्युनिटी इन्गेज्मेन्ट, इन्फेक्सन प्रीभेन्सन एण्ड कन्ट्रोल, केस म्यानेजमेन्ट र अप्रेसन्स सपोर्ट एण्ड लजिष्ट्रीकका विषयमा छलफल हुने सह–प्रवक्ता डा. अधिकारीले बताए ।

‘सबै विषयमा गहन रुपमा छलफल हुनेछ र छुटेका या भएका कमी–कमजोरीलाई दोहोरिन नदिने गरी आगामी रणनीति बनाउन यो कार्यक्रमले सहयोग गर्छ,’ डा. अधिकारीले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ