काठमाडौं—सिनामंगलस्थित नोबेल हस्पिटलको रहेको ठाउँमा १०० शैय्याको होप अस्पताल सञ्चालनमा आएको छ । नोबेल समूहले पूरानो बानेश्वर ओरालोमा नवनिर्मित भवनबाट ‘फ्रन्टलाइन हस्पिटल’का नाममा सेवा दिने तयारी गरेसँगै यसअघि सिनामंगलस्थित नोबेल अस्पताल रहेको ठाउँमा होप अस्पताल सञ्चालनमा आएको हो ।
१ फागुनबाटै होप व्यवस्थापनले सिनामंगलबाट १०० शैय्याको होप अस्पताल सञ्चालनमा ल्याइसकेको छ । अस्पतालका लागि नोबेल अस्पताल र ठमेलस्थित मनमोहन मेमोरियल अस्पतालबाट झण्डै १० करोड बराबरको उपकरण खरिद गरेको अस्पतालका अध्यक्ष शैलेन्द्रमोहन झाले जानकारी दिए ।
होप अस्पतालका सञ्चालकहरुले ललितपुरको सातदोबाटोमा ०७२ सालबाट होप इन्टरनेशनल कलेज सञ्चालन गरिरहेका छन् । जसमा सिटीईभिटी र पूर्वाञ्चल विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन हुँदैं आएका छन् । जसले पिसिएल नर्सिङ, वी फर्मा, बिपिएच, बीएनलगायतका चिकित्सा शिक्षाका कार्यक्रम अध्यापन गराइरहेको छ ।
चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार नर्सिङ कलेज सञ्चालनका लागि १०० शैय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था छ । ‘चिकित्सा शिक्षा ऐनअनुसार नर्सिङ कलेज सञ्चालनका लागि १०० बेडको आफ्नै अस्पताल हुनुपर्ने प्रावधान छ,’ होप इन्टरनेशल कलेज एवं होप अस्पतालका अध्यक्ष झाले भने, ‘त्यहीअनुसार हामीले यो हस्पिटल सञ्चालनमा ल्याएका हौं ।’ यसअघि होप इन्टरनेशल कलेजले एपीएफ अस्पताल र किष्ट मेडिकल कलेजसँग सम्झौता गरेर नर्सिङका विद्यार्थीको प्रायाक्टिकल गराउँदैं आएको थियो ।
उनकाअनुसार अस्पतालमा १३ जनाको समूहको लगानी छ भने अहिले कलेज र अस्पतालमा गरी ३५ करोड बढी लगानी पुगेको छ । होप अस्पतालमा १ सय बढी कर्मचारी कार्यरत छन् । अस्पताल सञ्चालनमा ल्याएसँगै होप समूहले नयाँ ढंगले सेवा दिएर अगाडि लैजाने तयारी गरिरहेको अध्यक्ष झाले बताए । ‘हस्पिटललाई राम्रो बनाएर लैजाने र आफ्नै विद्यार्थीलाई इन्भल्ब गराउने योजना छ,’ उनले भने, ‘यसअघि हाम्रा विद्यार्थीहरु बाहिर गइरहेका थिए ।’
होप समूह वि.सं. २०५१ सालदेखि स्वास्थ्य तथा प्राविधिक शिक्षामा संलग्न समूह हो । समूहले सप्तरीको राजविराजमा वि.सं. २०५२ सालमै छिन्नमस्ता इन्स्टिच्युट अफ टेक्नोलोजी सञ्चालनमा ल्याएको थियो । जसमा डिप्लोमाका सिभिल, इलेक्टीकल, सर्वे, हेल्थ असिस्टेन्ट, ल्याब टेक्नीसियन, डिप्लोमा इन फार्मेसी पढाइ हुँदैं आएको छ । साथै, यो समूहले राजविराजमा १ सय ५० शैय्याको हस्पिटल पनि सञ्चालन गरिरहेको छ ।