२०८० मंसीर १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ

प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ


काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान शुभारम्भ गरेका छन् । बिहीबार विहान स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको खोप क्यारियर स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै देउवाले खोप अभियानको शुभारम्भ गरेका हुन् ।

खोप अभियानको शुभारम्भपछि प्रधानमन्त्री देउवाले नेपाल दक्षिण एसियामै टाइफाइड विरुद्धको खोप अभियान सुरु गर्ने पहिलो राष्ट्र भएको बताए । उनले नेपालमा टाइफाइड जनस्वास्थ्य समस्याका रुपमा देखिएको उल्लेख गर्दै यसबाट बालबालिकालाई बचाउनका लागि प्रभावकारी खोप अभियान सञ्चालन हुन लागेको बताए ।

उनले सबै बालबालिकालाई खोप अभियानमा संलग्न गराउन पनि आग्रह गरे । कोभिड—१९ विरुद्धको खोपमा पाएको सफलताजस्तै टाइफाइड विरुद्धको खोप अभियानमा पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनमा जोड दिन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई आग्रह गरे । उनले त्यसका लागि स्मार्ट ट्रिटमेन्ट प्लान्ट राखेर व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

‘काठमाडौंजस्तो सुन्दर सहरमा जताततै फोहोरको थुप्रो हुँदा नेपालीको बेइज्जत नै भइसक्यो, यो लाजमर्दो हो । त्यसैले काठमाडौंलाई क्लिन बनाउन जरुरी छ । फोहोर व्यवस्थापनका लागि सबै लाग्नुपर्छ ।’ उनले त्यसका लागि सरकार पनि सहयोग गर्न तयार रहेको आश्वासन समेत दिए ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य दिवसकै अवसर पारेर टाइफाइड विरुद्धको खोप अभियान शुभारम्भ गरिएको बताए । यो अभियान ५० हजार ठाउँबाट १५ महिनादेखि १५ वर्षमुनिका ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन संकल्पवद्ध भएको उल्लेख गरे ।

बागमती प्रदेशका स्वास्थ्य निमा लामाले कोभिड—१९ विरुद्धको खोप अभियानमा सफल पार्न बागमती प्रदेशले १८ वर्षमाथिका सबै नागरिकलाई शतप्रतिशत दुवै डोज खोप उपलब्ध गराइसकेको बताए । उनले कोभिड—१९ विरुद्धको खोप अभियानमा पहिलो नम्बरमा रहेको बताउँदैं टाइफाइड विरुद्धको खोप अभियान सफल पार्नका लागि तयार रहेको बताए ।

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्द शाक्य टाइफाइड विरुद्धको खोप राष्ट्रिय अभियानका रुपमा सुरु भएको खुसी व्यक्त गरे । उनले सबै स्थानीय तहले यसलाई आफ्नो कार्यक्षेत्रमा लागु गर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ चैतदेखि १८ बैशाखसम्म झण्डै ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिदैंछ । मन्त्रालयकाअनुसार उक्त खोप १५ महिनादेखि माथि र १५ वर्षभन्दा मुनिका सबै बालबालिकाहरुलाई एक डोज दिइनेछ ।

स्थानीय तहका सबै वडाहरुमा तोकिएको विद्यालयका खोप केन्द्रबाट खोप लगाउन सकिनेछ । विद्यालय नभएका वडामा बाह्य खोप केन्द्र सञ्चालन गरिनेछ भने अन्तिम दिन स्वास्थ्य स्वास्थ्यमा खोप सेवा सञ्चालन गरिनेछ ।

साल्मोनेला टाइफी नामक भाइरसबाट हुने गम्भीर रोग टाइफाइड ढल, संक्रमित व्यक्तिको दिसा पाइने जीवाणुबाट हुने गर्छ । यो रोग दूषित पानी र खानाबाट मानिसमा सर्ने गर्छ ।

मन्त्रालयकाअनुसार पछिल्लो ५ वर्षमा नेपालमा ४ लाख ५० हजारभन्दा बढीमा टाइफाइडको संक्रमण पुष्टि भएको छ । नेपालमा पानी र खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये यो चौथो हो ।

टाइफाइड रोकथामका लागि खोपलाई नै अचुक उपाय मानिदैं आइएको छ । खोप दिन लागि १० हजार स्वास्थ्यकर्मी परिचालन हुने मन्त्रालयले जनाएको छ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ