काठमाडौं–विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस एड्हानोम ग्रेहब्रेयसस नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी २ दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार उनी ८ वैशाख (२१ अप्रिल)मा भारत हुँदै नेपाल आउन लागेका हुन् । डा= टेड्रोस ९ गते साँझ फर्कने कार्यक्रम रहेको छ ।
नेपाल सरकारको निमन्त्रणामा डा. ट्रेडोस नेपाल भ्रमणमा आउने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए । ‘नेपाल सरकारको निमन्त्रणमा आउने तयारी भएको हो,’ उनले भने, ‘२ दिनको उच्चस्तरीय भ्रमणमा नेपालका उच्च अधिकारीहरुसँग भेटघाट हुनेछ ।’ महामारीपछिको उच्चस्तरीय भ्रमणले सकारात्मक सन्देश दिने उनले बताए ।
महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम खेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आउँदैछन् ।
नेपालमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्नेछन् ।
नेपालले कोभिड–१९ को नियन्त्रणमा गरेको कामको प्रशंसा गर्दै आएका ट्रेडोस कोभिड विरुद्धको खोप अभियान पनि नेपालले सफल रुपमा सञ्चालन भन्दै सामाजिक संजालमा नै लेखेका थिए ।
डा. ट्रेडोस भारत सरकारको निमन्त्रणमा भारतमा हुने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर नेपाल आउन लागेका हुन् ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. ट्रेडोसको यो पहिलो नेपाल भ्रमण हो । यसअघि उनी इथोपियाको स्वास्थ्य मन्त्री हुँदा नेपाल आएर बुढानिलकण्ठस्थित प्राथमिक स्वास्थ्य केन्द्र अवलोकन गरेका थिए ।