काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयसस तीन दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी तीन दिने भ्रमणमा बिहीबार नेपाल आइपुग्दैछन् ।
भारत भ्रमणमा रहेका डा. टेड्रोस इन्डिगो एयरबाट दिउँसो १२ बजे नेपाल ओर्लिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । डा. टेड्रोस १० गते फर्कने कार्यक्रम रहेको छ ।
महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा। पुनम खेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आउँदैछन् ।
नेपालमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्नेछन् ।
नेपालले कोभिड–१९ को नियन्त्रणमा गरेको कामको प्रशंसा गर्दै आएका ट्रेडोस कोभिड विरुद्धको खोप अभियान पनि नेपालले सफल रुपमा सञ्चालन भन्दै सामाजिक संजालमा नै लेखेका थिए । डा. ट्रेडोस भारत सरकारको निमन्त्रणमा भारतमा हुने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर नेपाल आउन लागेका हुन् ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. ट्रेडोसको यो पहिलो नेपाल भ्रमण हो । यसअघि उनी इथोपियाको स्वास्थ्य मन्त्री हुँदा नेपाल आएर बुढानिलकण्ठस्थित प्राथमिक स्वास्थ्य केन्द्र अवलोकन गरेका थिए ।